रक्सौल डिपोबाट पेट्रोलियम पदार्थकाे आयात बन्द

 माघ ५, २०७७ सोमबार १३:२८:१९ | रासस
unn.prixa.net

काठमाण्डाै -  नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ ।

इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको जनाइएको छ । 

डिपो बन्द गर्ने निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयमा खरिदको व्यवस्था भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँकाअनुसार यसअघि रक्सौल नाकाबाट लोड लिइ निगमको वीरगञ्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने हुन्छ ।

निगमले लागू गरेको नयाँ व्यवस्थाका सम्बन्धमा केही अन्योल उत्पन्न भएपछि निगमको केन्द्रीय कार्यालय बबरमहलबाट गएको टोली र बारा/पर्सा पेट्रोलियम डिलर्स एशोसिएसन तथा स्थानीय प्रशासनबीच छलफलसमेत गरिएको थियो । 

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म अथवा इण्डियन आयल कर्पोरेशनले मोतिहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने जनाइएको छ ।

गएकाे डिसेम्बरमा अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटरभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमले जनाएको छ ।

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एशोसियसनको समन्वयमा प्रदेश नं २ प्रादेशिक कार्यालयबाट खरीद गर्ने सहमति जनाइसकेका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया