करको दर हैन दायरा बढाउँदै भरतपुर महानगरपालिका

 माघ १०, २०७७ शनिबार १०:३४:३७ | रासस
unn.prixa.net

चितवन - भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि बढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो । 

भरतपुर महानगरपालिकाले अहिलेसम्म २५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । असार मसान्तसम्ममा ९० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा रजिष्ट्रेशन सेवा शुल्कसमेत छ । गएकाे वर्ष यसै हाराहारीमा राजस्व सङ्कलन भएको थियो ।

महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर-घरमा टोली परिचालन गर्न थालिएको बताउनुहुन्छ । महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व सङ्कलनलाई तीव्रता दिएको छ ।

अर्यालले भन्नुभयो,'हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व सङ्कलनसमेत गर्न थालेका छौँ ।' महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पुर्याउने लक्ष्यका साथ अभियान थालिएको छ । 

महानगरपालिकाको राजस्व परामर्श र सङ्कलन समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व सङ्कलनको विषयमा नियमित छलफल गरी सङ्कलनमा जोड दिएको बताउनुहुन्छ । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण सङ्कलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउनुहुन्छ । महानगरपालिकाले कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उहाँले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गर्नुभयो ।

आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ । आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिनुभयो । 

चालु आव २०७७/०७८ को लागि कूल राजस्व तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजार रुपैयाँमध्ये आन्तरिक स्रोततर्फ र ९० करोड रुपैयाँ अनुमान गरिएको छ । उहाँकाअनुसार आन्तरिक राजस्वका स्रोतका शीर्षकमा मुख्यरूपमा घर बहाल करतर्फ आठ करोड रुपैयाँ, नक्सा पास दस्तुरतर्फ सात करोड २० लाख रुपैयाँ, एकीकृत सम्पत्ति करतर्फ चार करोड रुपैयाँ, व्यवसाय दस्तुरतर्फ छ करोड रुपैयाँ, विभिन्न सिफारिस दस्तुरतर्फ सात करोड रुपैयाँ, अन्य क्षेत्र आय ४० करोड रुपैयाँ, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा छ करोड ८० लाख रुपैयाँसमेत गरी राजस्व प्रक्षेपण गरिएको छ ।

भरतपुर महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो । विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुस अगाडि बुझाएको पाइन्छ ।

पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ । जसका कारण आन्तरिक आम्दानीसमेत बढ्ने देखिन्छ । पालिकाले मुख्यरुपमा आम्दानी गर्नसक्ने प्राकृतिक स्रोतबापतको कर यहाँ कम हुने भएकाले राजस्व तुलनात्मक हिसाबले कम रहेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया