यूरोपका विभिन्न देशमा कोरोनाको खोप अभियान स्थगित

 माघ ११, २०७७ आइतबार ६:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूरोपका विभिन्न देशमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ ।

बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ । युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो ।

अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन । संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ ।

गएको हप्ता फाइजरले आउँदा केही हप्ताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो । उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ ।

इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपेली युनियन (ईयू)ले पनि स्वीकृत भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ । 

अन्तिम अपडेट: फागुन ५, २०७७

तपाईको प्रतिक्रिया