स्राेत, साधनलाई सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

 माघ २५, २०७७ आइतबार २०:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्राेत, साधनलाई सही रूपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिकाे यात्रामा पछि परेको बताउनुभएको छ । 

शनिबार तुलसीपुर उद्योग वाणिज्य सङ्घको २६ औँ साधारण सभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले देशभित्र अथाह प्राकृतिक स्राेत र साधनहरू हुँदाहुँदै पनि देश विकास र समृद्धिकाे यात्रामा पछाडि परेको बताउनुभएको छ । 

‘हामीसँग प्रशस्त मात्रामा प्राकृतिक स्राेत र साधनहरू छन् । यसलाई हामीले सही रूपमा सदुपयोग गर्न सकिरहेका छैनौँ । यी उपलब्ध स्राेत तथा साधनको सही रूपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र समृद्धि असम्भव छैन । यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि आवश्यक हुन्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा ढकालले चुनावका समयमा गरिएका वाचा पूरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने उहाँले बताउनुभयो ।

‘हुन त स्थानीय समस्याहरू समाधान गर्न तपाईँहरू स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले चुनावका समयमा गरेका वाचा पूरा गर्नेछाैँ । तपाईँहरूले भोगेका समस्याकाकाे समाधानका लागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ’, उहाँले भन्नुभयो ।

निजी क्षेत्रलाई राज्य तथा यसका निकायबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उहाँले निजी क्षेत्र व्यवसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने छ । 

‘तर यस नगरपालिकामा मैले त्यो नितान्त भिन्न पाएको छु । निजी क्षेत्रलाई सरकारको विकासको साझेदारको रूपमा हेर्ने उहाँको यस दृष्टिकोणले हामीलाई हौसला मिलेको छ । साँच्चिकै उत्साहित बनाएको छ’, उहाँले भन्नुभयो ।

‘यसरी निजी क्षेत्रलाई विकासको साझेदारको रूपमा हेर्ने हो भने हामीले धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने, राजस्व सङ्कलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रूपमा काम गर्न सकिन्छ । सबै पालिका, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौँ‘, उहाँले थप्नुभयाे । यसले मात्र हामीलाई विकास र समृद्धिकाे बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताउनुभयो ।

उहाँले तुलसीपुर उद्योग वाणिज्य सङ्घको २६ औँ साधारण सभा अधिवेशनसहितको साधारण सभा भएको हुनाले यस साधारण सभाले सक्षम नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गर्नुभयो । साथै उहाँले ढकालले महासङ्घको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारण सभामा आफूलाई विजयी गराउन भूमिका खेल्नु हुने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।   

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया