कर छुटको सुविधा लिनको लागि राजस्व कार्यालयको आह्वान

 माघ २७, २०७७ मंगलबार १०:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २०७७ सालको आर्थिक ऐनले प्रदान गरेको कर छुटको सुविधाबाट लाभान्वित हुनको लागि आन्तरिक राजस्व कार्यालयले व्यवसायीहरूलाई आह्वान गरेको छ । 

ललितपुर चेम्बर अफ कमर्सको समन्वयमा आन्तरिक राजस्व कार्यालय ललितपुर क्षेत्र नम्बर १ र  २ को आयोजनामा ललितपुरमा सोमबार भएको आर्थिक ऐन २०७७ को कर छुट सुविधा र सूचना प्रविधि सम्बन्धित अन्तर्क्रियामा  राजस्व कार्यालयका अधिकारीहरूले यस्तो आह्वान गरेको हो।

ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यको सभापतित्वमा भएको अन्तर्क्रियामा आन्तरिक राजस्व कार्यालय ललितपुर क्षेत्र नम्बर १ का प्रमुख जीवनकुमार घिमिरे र  क्षेत्र नम्बर २ का प्रमुख निरन भट्टराई,कर अधिकृत राधेश्याम दाहाल, एकीकृत सूचना प्रविधि अधिकृत थानेश्वर पनेरू, कम्युटर अधिकृत पवन बस्नेतले २०७७ को आर्थिक ऐनले स्थायी लेखा नम्बर लिएर विगतमा कर नतिरेको भए पनि आर्थिक वर्ष २०७४/ ७५, २०७५/ ७६ को कर फागुन मसान्तसम्ममा बुझाएमा पनि विभिन्न कर छुटसम्बन्धी सुविधाको स्कीम भएको बताउनु भयाे । त्यस सुविधा लिनका लागि व्यवसायीहरूलाई आह्वान गर्दै ट्याक्सपेयर पोर्टलमा सूचीकृत हुनका लागि उनीहरुले अनुरोध गरेका छन्।

ललितपुर चेम्बरका अध्यक्ष शाक्यले आन्तरिक राजस्व कार्यालयबाट जति सक्यो छिटो कर तिरेको प्रमाण वितरण गर्नको लागि ध्यानाकर्षण गर्दै सरकारले कमर्चारीहरूको लागि पेन्सनको व्यवस्था गरेजस्तै आफ्नो व्यापार व्यवसायबाट जीवनभरि कर तिरेका व्यवसायीहरूको लागि पनि  भविष्य सुरक्षित सुविधाको व्यवस्था गर्नको लागि माग गर्नु भयो।

अन्तर्क्रिया कार्यक्रममा ललितपुर जिल्ला सहकारी सङ्घका अध्यक्ष रामहरि बजगाईँ, ललितपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष रमेशबहादुर शाक्य, ललितपुर चेम्बर अफ कमर्सका महासचिव सुविन बज्राचार्यलगायतका ललितपुरका विभिन्न वस्तुगत सङ्घका प्रतिनिधिहरूले आ-आफ्नो व्यवसायको समस्या राखेका थिए।

कार्यक्रममा उज्यालो रेडियो नेटवर्कका पत्रकार सिल्भिया राजोपाध्याय र अनलाइन पत्रिकाका पत्रकार सुविन श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेको थियो।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया