‘सुरक्षाको लागि ४० वर्ष मुनिका महिला विदेश भ्रमणमा जाँदा पालिका र परिवारको सहमतिको प्रस्ताव गरेका हौैं’

 माघ २८, २०७७ बुधबार १५:१६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरुकाे लागि नयाँ नियम लागू गर्ने प्रस्ताव ल्याएको छ ।

विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै एक्लै विदेश भ्रमणमा हिँडेका ४० वर्ष मुनिका महिलाका लागि परिवारको सहमति र वडाको सिफारिस अनिवार्य गर्ने गरी प्रस्ताव गृह मन्त्रालयमा पठाएको विभागका सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

भिजिट भिसामा विदेश जाने र गन्तव्य देशमा पुगेपछि अलपत्र पर्ने, मानव बेचबिखन र तस्करीजस्ता घट्ना भएपछि त्यसको छानबिन गर्न बनेको समितिले दिएको सुझाव अनुसार नै महिलाहरुको सुरक्षाका लागि यो प्रस्ताव गरिएको सूचना अधिकारी पौडेलको भनाइ छ ।

तर यो नियम पहिलो पटक विदेश भ्रमणमा एक्लै हिँडेका महिलाका लागि मात्र हुन्छ । एक पटक भ्रमणमा गइसकेका महिलाको हकमा भने परिवार र वडाको सिफारिस चाहिँदैन । ‘भिजिट भिसाको नाममा विभिन्न खालका गतिविधि बढेपछि छानबिन गर्न बनेको समितिले दिएको सुझाव अनुसार नै यो प्रस्ताव गरिएको हो, तर यो प्रस्ताव मात्र हो,’ सूचना अधिकारी पौडेलले भन्नुभयो,‘यो विदेश भ्रमणमा हिँड्नुभएका महिलाहरुकै सुरक्षाको लागि हो ।’

महिलाहरुलाई भ्रमणमा बन्देज लगाउन खोजियो भन्ने प्रसंगबाट यो प्रस्तावको विरोध भएको भन्दै सूचना अधिकारी पौडेलले भन्नुभयो,‘आफ्नो मानिस कहाँ, कुन ठाउँमा के को लागि जाँदै छ भन्ने परिवारलाई पनि थाहा होस् र आफ्नो ठाउँबाट नागरिक कहाँ गइरहेको छ भन्ने अभिलेख पालिकासँग पनि होस् भन्ने हाम्रो उदेश्य हो, बन्देज लगाउन खोजिएको हैन ।’

सरकारले घरेलु श्रममा पठाउन रोक लगाएपछि पछिल्लो समय भिजिट भिसामा लैजाने र विभिन्न देशमा पुर्‍याएर अलपत्र पार्ने क्रम बढिरहेको छ ।

यो सँगै अब भिजिट भिसामा जानेहरुको लागि १५ लाखको बिमा पनि अनिवार्य हुनुपर्ने प्रस्ताव गरिएको छ । मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधी उपचार नपाएर बिजोग भएको अवस्थालाई मध्यनजर गर्दै कार्यविधि संशोधन प्रस्ताव गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

‘भिजिट भिसामा जाने, अनि गन्तव्यमा पुगेपछि काम गर्ने प्रवृत्ति छ, तर यसरी काम गर्दा कुनै समस्यामा परेमा या भ्रमणकै क्रममा दुर्घटनामा परेमा उद्धार र उपचारमा पनि समस्या हुने भएकाले हामीले बिमाको व्यवस्था प्रस्ताव गरेका हौं,’ सूचना अधिकारी पौडेलले भन्नुभयो । यस्तै विदेश भ्रमणमा जाँदा डलर साटेको प्रमाण पनि साथमा राख्नु पर्ने प्रस्ताव गरिएको छ । कुन बैंकमा कहाँबाट साटिएको हो भन्ने प्रमाण हुँदा सहज हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया