कोरोनाले लघु तथा घरेलु उद्योगलाई सबैभन्दा बढी असर

 माघ ३०, २०७७ शुक्रबार १८:४१:४७ | रासस
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ (काेराेना भाइरस) का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरूपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको, २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ । 

यस अध्यनमा गरगहना, रङ्गरोगन, पेयपदार्थ, सिमेन्ट, तामा र पित्तलका भाडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोसाक, परामर्शलगायतका वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्ययनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) का रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए ।

यसैगरी अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ति गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए । 

यसैगरी ८७ दशमलव पाँच प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । सतासी दशमलव पाँच प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए । यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए । 

ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए । कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव २२ प्रतिशतमात्र नाफामा रहेको बताएका थिए । नाफामा रहेका उद्योगमध्ये ६६ दशमलव ६७ प्रतिशत ठूला उद्योग थिए ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया