सिंहदरबारका तीन वटा मोहडाको पुनर्निर्माण सकियाे, भोलि प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने (तस्बिरहरू)

 फागुन २, २०७७ आइतबार १९:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्पले क्षति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सकिएको छ । पुनर्निर्माण सकिएको पश्चिमबाहेकका तीन वटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार (भोलि) उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ ।

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (एनआरए) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षित रूपमा पुनर्निर्माण गरिएको बताउनुभयो । ‘हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनर्निर्माण गरेका छौँ । साथै, अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहने गरी अहिलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सङ्गठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ’, उहाँले भन्नुभयाे ।

उद्घाटन हुन लागेका मोहडाहरू २०३० सालमा आगलागी भएपछि २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरू प्रयोग गरी पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका साथै कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।

सिंहदरबार पुनर्निर्माणको कार्यान्वयन गरिरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत यी मोहडाको पुनर्निर्माणमा भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।

उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तैः– सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ हरू प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रबलीकरण गरिएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी शर्मा न्यू टेक्निकलले पहिलो चरणको काम गरेको हो भने शर्मा माइक्रोटेक न्यू टेक्निकल जे.भी. ले दोस्रो चरणको काम गरेको हो ।

पश्चिम मोहडा प्रबलीकरण चल्दै

आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग गरी प्रबलीकरण भइरहेको छ । यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञहरूबीच छलफलले समय लिएको थियो । सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपयुक्त भएको निष्कर्ष आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्रबलीकरण गर्ने काम भइरहेको छ ।

२०७६ असोज २७ देखि सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माणको अहिलेसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । भ्याटबाहेक झण्डै ४६ करोड ८८ लाख रुपैयाँमा शर्मा गौरी पार्वती न्यू टेक्निकल जे.भी. ले प्रबलीकरण गरिरहेको छ । 

तस्बिर : एनआरए 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया