यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले कार्यदल बनाउने बताउनुभएको हो ।
गृह मन्त्री रामबहादुर थापा बादल र सरकारका उच्च पदस्थ अधिकारीसहितको छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानुपर्छ ।’
छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशङ्का वा रिसिबीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नुभयो । ‘जता पट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक, उसमा आश्रित सन्तानको पीडाहरु उस्तै–उस्तै छन्’, उहाँले भन्नुभयो ।
पेन्सन आदि केही पनि नपाउने द्वन्द्व पीडितको परिवार अरुभन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । द्वन्द्वरत कुनै पक्ष मै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण नागरिक पनि थुपै सङ्ख्यामा पीडित रहेको उहाँले बताउनुभयो । ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो ।
जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘अब क्षमा गर र बिर्स को भावबाट जानुपर्छ’, प्रधानमन्त्रीको भनाइ थियो । यद्यपि मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजाय पाउने पनि प्रधानमन्त्रीले बताउनुभयो ।
द्वन्द्वमा मृतकका परिवार वा घाइतेबाहेक बहिर्गमित लडाकुको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘तीन–चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ । उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रीता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार आठ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै एक हजार जना घाइते भएको बताउनुभयो । ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उहाँले उल्लेख गर्नुभयो ।
‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान–सुरक्षाकर्मीसमेतको मनोबल उच्च हुनेछ’, उहाँको भनाइ थियो । सरकारले मृतक सुरक्षाकर्मीलाई शहीद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।