प्रदेश १ को प्रदेशसभा बैठक बस्दै : मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी

ओली समूहका सांसदले बैठक अवराेध गर्न सक्ने

 फागुन ९, २०७७ आइतबार १२:५:४४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची छ ।

दुई बजे प्रदेशसभाको बैठक बोलाउने सूचना भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिलेसम्म बोलाइएको छैन ।

माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बसेको थियो ।

हिउँदे अधिवेशनको दोश्रो प्रदेशसभाको बैठक नेकपाको ओली समूहका सांसदले अवरोध गरेपछि फागुन ९ लाई बोलाइएको हो । आजको बैठक पनि अवरुद्ध हुने सङ्केत देखिएको छ ।  

पुस १२ गते प्रदेशसभामा नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईकाविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेपछि प्रदेशसभाका सदस्यहरु विभाजित अवस्थामा छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये पाँच जनाले प्रस्ताव फिर्ता लिएका छन् ।

आजको प्रदेशसभा बैठकमा नेकपाको ओली पक्षका सांसदहरुले बैठक अवरुद्ध गर्ने सम्भावना छ भने ओली समूहबाहेकका सांसदहरु जसरी हुन्छ अविश्वासको प्रस्ताव बैठकमा टेबल गर्नुपर्ने पक्षमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया