कोरोना महामारीको चपेटामा भारत, महाराष्ट्रमा सार्वजनिक भेला गर्न नपाइने

 फागुन १०, २०७७ सोमबार १०:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ गरिएको छ ।

महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गर्नु भएको छ । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उहाँले बताउनु भएको छ ।

एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै उहाँले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको महामारी तीव्र गतिमा फैलिरहेकाले यो निर्णय गरिएको र यो निर्णयले कोरोनाको नयाँ लहर हो की होइन भने अबको ८ देखि १५ दिनभित्र थाहा हुने उहाँले बताउनुभयो ।

लकडाउनले कोरोनाको समस्या समाधान हुन नसके पनि भाइरसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री ठाकरेले कोरोना नियन्त्रणका लागि अपनाइएको सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र नगरे कारबाहीसमेत हुने बताउनु भएको छ । कोरोना विरुद्धको लडाइँ जित्न मास्क नै उपयुक्त हतियार भएको पनि उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेपछि  महाराष्ट्रको अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन गर्न लागिएको छ । लकडाउन मार्च महिनादेखि लागू हुनेछ । लकडाउन भए पनि अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । सङ्क्रमण बढ्दै गएपछि पूणेमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार महाराष्ट्र, केरला, आन्ध्र प्रदेश, गोवा र चण्डीगढमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया