सात महिनामा भारतबाटै भित्रियो पाँच करोड रुपैयाँ बराबरको १४ लाख किलो कोदो

 फागुन ११, २०७७ मंगलबार १५:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – नेपाललाई कृषिप्रधान देश भनिए पनि सबैजसो कृषि सामग्री विदेशबाट आयात हुन्छन् । हरियो सागपातदेखि तरकारीसम्म विदेशबाटै आयात हुन्छ । 

अचम्मको कुरा त नेपालको पाखा बारीमै फल्ने कोदोसमेत विदेशबाटै आयात हुन्छ । त्यो पनि लाखौँ किलोको मात्रामा । चालु आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै पाँच करोड रुपैयाँको कोदो आयात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि माघ महिनासम्म भारतबाट नेपालमा १४ लाख ५४ हजार किलो कोदो आयात भएको छ । यसको मूल्य चार करोड ८१ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

यस्तै चीनबाट १२ हजार रुपैयाँ बराबरको एक सय २५ किलो कोदो आयात भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा झण्डै २२ लाख किलो कोदो आयात भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो ।

यो आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ  । हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया