पशुपतिनाथमा ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने

 फागुन १४, २०७७ शुक्रबार १४:२८:५६ | रासस
unn.prixa.net

काठमाण्डाै – पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती ठाउँमा यन्त्रसमेत राखिएको छ । ती ठाउँमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ ।

यस प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ । यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ ।

कोष र बैंक अफ काठमाण्डाै लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार ठाउँमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी शुक्रवार सम्झौतासमेत भएको छ  ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताउनुभयो । देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले सामान किनमेल गर्दा पैसा दिने प्रणाली हुँदा कतिपय अवस्थामा पैसा फिर्ता लिन मन नलाग्ने अवस्थाबाट प्रविधिले मुक्ति दिएको बताउनुभयो । एक पटक दुई सय रुपैयाँकाे सामान किन्दा पसलेले तीन सय रुपैयाँ फिर्ता दिनुपर्नेमा उनीसँग खुद्रा पैसा नभएर मासु पसलमा साट्न गएपछि आफू फिर्ता नलिइ हिँडेको घटना उहाँले सुनाउनुभयो । 

बैंक अफ काठमाण्डाै लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले देशका अन्य मठमन्दिरमा पनि यो सेवा पुर्‍याइने जानकारी दिनुभयो । बैंकले बालाजुकाे माछापोखरीको तरकारी बजारमा यही प्रणालीबाट भुक्तानीको व्यवस्था गर्न लागेको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया