भारतमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई आजदेखि खोप लगाइँदै

 फागुन १७, २०७७ सोमबार ९:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

आजदेखि देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप  लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ ।

यसका लागि एक डोजका लागि नागरिकले २५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ । भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउन पाइनेछ ।

आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा ६०  वर्षमाथिका झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी छ । भारतले आउँदो जुलाई महिनासम्ममा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।

भारतमा गएको जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया