मनाङमा पहिलाे पटक ३३ केभीको प्रसारण लाइन

 फागुन १७, २०७७ सोमबार १२:१७:१ | रासस
unn.prixa.net

मनाङ - हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । 

यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । 

यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै मनाङमा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीकाअनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो ।

सीमित जनशक्ति, भौगोलिक विकटता अत्याधिक चिसोजस्ता प्रतिकूल समस्या भए पनि पटक-पटकको प्रयासपछि  भारतबाट फाइबर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको केन्द्रका प्रमुख सुवेदीले बताउनुभयो । उहाँकाअनुसार मनाङमा कार्यालय स्थापना भएको १८ महिनामा नै केन्द्रीय प्रसारण जडान जडान हुन सकेको छ । 

दशकौँदेखि लघुजलविद्युतको भरमा दैनिकी चलाउँदै आएका मनाङवासीले केन्द्रीय लाइनको विस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउनुहुन्छ । 

उहाँकाअनुसार यो केन्द्रीय प्रशारण लाइन लमजुङको उदीपुर सब-स्टेशनबाट राँधी हाइड्रोसँग जोडी मनाङको चामे गाउँपालिका-१ स्यार्कुको सबस्टेशनमा जोडिएको हो । २०५१ सालदेखि यस मनाङलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न खोजिए पनि  राजनीतिक उतारचढाब, भौगोलिक विकटता, आवश्यक सामग्रीको अभावका कारण अधुरो रहेको थियो । 

तत्कालीन समयमा यस मनाङबाट मन्त्रीसमेत हुनु भएका पाल्तेन गुरुङले जिल्लालाई सडक र विद्युतकाे पहुँच पुर्याउन आफूले सुरुवात गरेको र आज आफ्नो सपना पूरा भएको बताउनुभयो।

सडकले २०५९ सालमा मनाङ जोडियो र अहिले विद्युतकाे केन्द्रीय प्रसारण लाइन पुगेपछि जिल्लाको विकास निर्माणले गति लिएकामा उहाँ खुशी व्यक्त गर्नुहुन्छ । साविकको लघु जलविद्युतको भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय मात्र होइन, उद्योगी व्यापारीसमेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् । 

लघु जलविद्युतका कारण सरकारी कार्यालय, वित्तीय सङ्घसंस्थाले दैनिक कामकाजमा हैरानी खेप्नु परेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताउनुभयो । अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ केभीको केन्द्रीय प्रशारण लाइन फलदायी हुने उहाँको भनाइ छ ।

लघुजलविद्युतमा मागअनुसार विद्युतीय प्रवाह हुन नसक्दा आवश्यक उपकरणको प्रयोग गर्न कठिन भएको मनाङ एग्रो प्रालिका सञ्चालक समराज गुरुङले बताउनुभयो । उहाँ अब केन्द्रीय प्रशारण जडानपछि आफ्नो उद्योग सञ्चालनमा आउने उहाँको भनाइ छ । 

उहाँका अनुसार यस कम्पनीबाट उत्पादन हुँदै आएका स्याउ भण्डारणदेखि बेमौसममा उपायको गर्नका लागि भएका उपकरण सञ्चालनमा आउन सकेका थिएनन् । अब यस उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । 

यस्तै पर्यटन व्यवसायीले समेत आवश्यक मात्रामा विद्युत् आपूर्ति नभएका कारण पर्यटकका सामान्य आवश्यकता समेत पूरा गर्न कठिन भएको अवस्थामा केन्द्रीय प्रशारण लाइन जोडिएसँगै अबका दिनमा सबै समस्याको समाधान हुने बताएका छन् । 

विद्युतकाेे लोड नपुग्दा सामान्य कफी मेसिनसमेत सञ्चालन गर्न नसकेर दाउराको भरमा काम चलाउनु परेको दुखेसो होटल व्यवसायीको थियो । 'पर्यटक आउँछन् मोबाइल, ल्यापटप, क्यामेरा चार्ज गर्न खोज्छन्, त्यसअनुसारको सेवा दिन नसक्दा निकै समस्या थियो', चामेका होटल व्यवसायी सेती गुरुङ भन्नुहुन्छ, ‘केन्द्रीय प्रसारण लाइन जोडिएसँगै हिटर, कपडा धुने मेसिन, गिजरलगायतका विद्युतीय उपकरण सञ्चालनमा आएको छ । यसले पर्यटकलाई सेवा दिन सहज भएको छ ।'

अहिले नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले सदरमुकाम चामेमा धमाधम मिटर वितरणसँगै मिटर जडानको काम थालेको छ । सरकारी कार्यलय, अस्पताल, विद्यालय र गाउँपालिकाका कार्यालयलगायत औद्योगिक क्षेत्रमा मिटर जडान भइसकेको वितरण केन्द्रले जनाएको छ । 

अहिले यस केन्द्रले जिल्ला सदरमुकामसम्म प्रशारण लाइन जडान गरिसकेको छ भने माथिल्लो मनाङ, खाङ्सार, तिलिचो बेसक्याम्प र थारोङ्ला हाइक्याम्पसम्म पोल गाड्ने काम पूरा भएको छ । वितरण केन्द्रका अनुसार यो वर्ष जिल्लाका अन्य भागमा समेत विद्युत् प्रशारण गरिने छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया