नेपालकाे अर्थतन्त्रकाे आकार बढेर ३९ खर्ब ४३ अर्ब ६६ कराेड पुग्याे

 फागुन २०, २०७७ बिहिबार १८:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केन्द्रीय तथ्याङ्क विभागले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार १० वर्षमा १४ दशमलव ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक गरेको छ । विभागले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ कराेड रुपैयाँ पुगेको छ । 

आधार वर्ष परिवर्तन गर्दै अध्ययन गर्दा सन् २०१०/०११ मा उत्पादनमा २० दशमलव २७ प्रतिशत, मध्यवर्ती उपभोगमा ३५ दशमलव ४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४ दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको हो । यस परिवर्तनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अब ६६ करोड रुपैयाँ पुगेको देखिन्छ ।

यस्तै मध्यवर्ती उपभोग र उत्पादनको अनुपात सन् २०००/००१ को आधार वर्षअनुसार ३७ दशमलव १ प्रतिशत रहेकोमा परिवर्तित आधार वर्षअनुसार अनुपात ४१ दशमलव ८२ प्रतिशत रहेको छ । तथ्याङ्क सार्वजनिक गर्दै विभागका उपमहानिर्देशक डाक्टर हेमराज रेग्मीले औद्योगिक वर्गीकरणअनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछा पालनमा ० दशमलव ५ प्रतिशत, खानी तथा उत्खननमा २२ दशमलव ५ प्रतिशत, औद्योगिक उत्पादनमा ४ दशमलव ५ प्रतिशत, विद्युतमा ४६ दशमलव ८ प्रतिशत, निर्माणमा ३ दशमलव ७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २३ दशमलव १ प्रतिशत वृद्धि भएको बताउनुभयो ।

अध्ययनको नतिजाअनुसार आवास तथा भोजनालयमा १६ दशमलव ४ प्रतिशत, यातायात तथा सञ्चारमा २ दशमलव ६ प्रतिशत, वितीय तथा बीमासम्बन्धी क्रियाकलापमा ३६ दशमलव ८ प्रतिशत, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापहरूमा ५२ प्रतिशत, सार्वजनिक प्रशासन तथा सुरक्षा र अनिवार्य सामाजिक सुरक्षामा १५७ दशमलव ९ प्रतिशत, शिक्षामा ११ दशमलव २ प्रतिशतको सुधार देखिएको छ । यस्तै मानव स्वास्थ्यमा १ दशमलव २ प्रतिशत र औधोगिक वर्गीकरणमा भएका परिवर्तनको कारण कला, मनोरञ्जन तथा अन्य क्रियाकलापमा ८५ दशमलव ८ प्रतिशतले कमी हुने देखिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले रिबेसिङ अध्ययनको नतिजाअनुसार योजना निर्माण र तर्जुमामा दबाब पर्ने बताउनुभयो । नेपाल सरकारले प्राथमिकता दिएका योजनाहरू पुनरावलोकन गर्ने पनि उहाँकाे भनाइ छ । पूर्वानुमानअनुसार कोरोनाको असरले वृद्धिदर ठूलो आकारको ऋणात्मकमा जान्छ कि भन्ने डर तथ्याङ्कले हटाएकाले आउँदा वर्षको योजना यसैअनुसार बनाउने आयाेगका उपाध्यक्ष कँडेलले बताउनुभयो । गएकाे वर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक, जीडीपीकाे आकार बढेकाले आत्तिने अवस्था नरहेको उहाँले बताउनुभयो ।

विभागले यसअघिको आधार वर्ष २०५७/०५८ (सन् २०००/००१) लाई परिवर्तन गरेर २०६७/०६८ (सन् २०१०/०११) बनाएको हो । जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवा क्षेत्रको योगदानको भार ८ दशमलव ४ प्रतिशतले बढेको छ भने कृषि (प्राथमिक) तथा द्वितीय (उत्पादन तथा प्रशोधन) क्षेत्रको भार क्रमशः ९ दशमलव ५ र ३ दशमलव २ प्रतिशतले घटेको छ । यस्तै प्रतिव्यक्ति आय पनि गएकाे वर्षको भन्दा २५ अमेरिकी डलरले घटेको छ । गएकाे वर्ष एक हजार एक सय ५९ रहेकोमा अहिले घटेर एक हजार एक सय ३४ डलर रहेको तथ्याङ्कले देखाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया