प्रधानमन्त्री ओलीकाे ठट्टा : ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, हाम्रो त १४ वर्ष’

 फागुन २१, २०७७ शुक्रबार १८:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्यौली शैलीमा आफूले १४ वर्ष जेल बस्नुपरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता धर्मेन्द्र बाँस्तोलालाई छिटै जेलबाट छुटेकोमा बधाई दिनुभएकाे छ ।

काठमाण्डौको राष्ट्रिय सभा गृहमा शुक्रवार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, हाम्रो त १४ वर्ष ।’ 

४८ वर्षअघि आजकै दिन नयाँ आन्दोलन, नयाँ एकीकरण र नयाँ सङ्कल्प बोकेर हिँडेका पाँच जनालाई जेल सार्ने नाममा सुखानी जङ्गलमा लगेर सबैको एकै ठाउँमा हत्या गरिएको घटनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै सहिदप्रति हार्दिक श्रद्धासुमन पनि व्यक्त गर्नुभयो । उहाँले नेपालको राजनीतिक परिर्वतनमा योगदान पुर्‍याउने क्रममा ज्यान गुमाएका केही व्यक्तिहरूलाई सरकारले विधिवत् ढङ्गले सहिद घोषणा गरेको पनि जानकारी दिनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको सहमतिसँगै नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभयाे । प्रधानमन्त्री ओलीले सहमतिसँगै नेपालमा अब हिंसात्मक द्वन्द्व छैन भन्ने सन्देश दिएको बताउनुभएको हो ।

उहाँले अघिल्लो वर्ष सिके राउतसँग भएको सहमति स्मरण गर्दै शान्तिपूर्ण युग प्रवेशको अन्तिम किस्ताको रूपमा विप्लवसँगको सहमति भएको बताउनुभयो । राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेकोमा बधाई अनि धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले यो राजनीतिमा विप्लव सफल हुने विश्वास आफूले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन । आजको कामको ठूलो उपलब्धि अब नेपालमा हिंसात्मक द्वन्द्व छैन र शान्ति छ । यो सहमतिसँगै नेपाल शान्तिको मापदण्डमा धेरै अगाडि बढेको छ । शान्तिको प्यारामिटरमाथि उठाउन सहयोग गरेकोमा विप्लवलाई धन्यवाद दिन चाहन्छु ।’  

तस्बिर : रासस

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया