धेरै अन्न फलाउने पाँचथरका एक सय २५ किसान एक/एक लाख रुपैयाँसहित पुरस्कृत

 फागुन २१, २०७७ शुक्रबार १९:१५:४८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकाले एक सय २५ जना किसानलाई एक लाखका रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले यसअघि नै घोषणा गरेअनुसार पालिकाभित्रका धेरै अन्न फलाउने किसानलाई पुरस्कृत गरेको हो ।

गाउँपालिकाको आठौँ गाउँ सभाले ४० मुरी धान, चार फुट लम्बाइ र ४० फुट चौडाइ भएको थाङ्ग्रोभरिका मकै र ३५ मनभन्दा धेरै आलु फलाउने किसानलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

गाउँपालिकाले बढी उत्पादन गर्ने किसानहरूलाई नवौँ गाउँ सभाको अवसरमा पुरस्कृत गरेको अध्यक्ष अमर माखिमले बताउनुभयो । कोरोना महामारीको जोखिमका कारण गरिएको लकडाउनमा युवा शक्ति गाउँ फर्कने अभियान सुरु भएसँगै बाँझो जमिनको सदुपयोग गर्ने उद्देश्यले ल्याइएको यो कार्यक्रम प्रभावकारी भएको अध्यक्ष माखिमको भनाइ छ । 

किसानलाई प्रोत्साहन गर्ने यो कार्यक्रमलाई आउँदा वर्षमा केही परिमार्जनसहित अगाडि बढाउने तयारी भइरहेको अध्यक्ष माखिमले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया