हुम्लामा हिमपात, हवाई उडान रोकियो

 फागुन २४, २०७७ सोमबार १८:३३:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

हुम्ला – उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमवारदेखि हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । 

आइतवार बिहानदेखि हुम्लामा बाक्लो बादल लागेसँगै सोमवार बिहान सात बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्मे देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् । 

हुम्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिरहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिनुभयो । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताउनुभयो । बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।

अग्लो ठाउँमा हिमपात धेरै भएको छ । मानिस हिउँमा खेल्नका लागि घरबाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसान भने खुसी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातले कात्तिके बालीनालीका लागि राम्रो हुने भएको छ । यो पटक परेको हिमपातले खनजोत गर्न किसानलाई सजिलो हुने भएको छ ।

हिमपात रोकिएलगत्तै यहाँका किसानले अब खेतबारीमा कात्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमीलगायत बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन । 

हवाई उडान प्रभावित 

सोमवार बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात बन्द भएको छ । हवाई उडान बन्द हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन सकेको छैन । उडान बन्द हुँदा सिमकोटमा व्यवसाय गर्ने पसलेका सामान, निर्माण व्यवसायीका सामग्री ढुवानी ढप्प रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्लाबाहिर जाने र जिल्ला भित्रिने यात्रु हिमपातका कारण यतै रोकिएका छन् ।  

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया