अमेरिकामा खोप लगाएकाहरु सामान्य जीवनमा फर्किन सक्ने

 फागुन २५, २०७७ मंगलबार ९:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले  पूर्ण खोप लगाइसकेकाहरु सामान्य जनजीवनमा फर्कन सक्ने बताएको छ ।  

उनीहरूले अरू खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि भेटघाट गर्न सक्ने सीडीसीको नयाँ मापदण्डमा उल्लेख छ ।

खोपको दोस्रो मात्रा लगाएको दुई हप्तापछि खोप लगाएकाहरू सुरक्षित हुने सीडीसीले जनाएको छ । अहिलेसम्म तीन करोड अमेरिकीले खोपको पूर्णमात्रामा खाेप लगाइसकेका बीबीसीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूले नयाँ मापदण्ड सार्वजनिक गर्दै पूर्ण खोप लगाइसकेकाहरुले घरभित्र अन्य व्यक्तिहरूसँग भेटघाट गर्दा मास्क वा भौतिक दूरी कायम गर्न नपर्ने जनाएका छन् ।

उनीहरुले घरभित्र भाइरसको गम्भीर बिरामी हुने जोखिम कम भएका सदस्यहरुसँग सजिलै भेटघाट र कुराकानी गर्न सक्ने छन् । यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएका अरूसँग भेट भए पनि आफूलाई कुनै लक्षण देखा नपरे परीक्षण वा क्वरेण्टीनमा बस्न पनि नपर्ने नयाँ मापदण्डमा भनिएको छ ।  तर, खोप नलगाएका र कोरोना सङ्क्रमणको जोखिममा रहेकासँग भेट्दा भने खोप लगाएकाहरूले मास्क लगाउनु पर्ने र भौतिक दूरी पनि कायम गर्नु पर्ने खबरमा उल्लेख छ । अमेरिकामा अहिलेसम्म ९ करोड मात्राको खोप वितरण भइसकेको छ ।

एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोपको स्वीकृतिले पनि वितरण सहज भएको छ । तर स्वास्थ्य अधिकारीहरूले अझै पनि कोभिड–१९ गम्भीर चिन्ताको विषय बनिरहेको बताएका छन्। अझै अमेरिकाका ९० प्रतिशत जनसङ्ख्याले खोप लगाउन बाँकी रहेको सीडीसीकी निर्देशक डा. रोसेल वालेन्स्कीले बताउनु भएको छ ।

अमेरिकामा  हरेक दिन करिब ६० हजार नयाँ सङ्क्रमित थपिइरहेका छन् । अहिलेसम्म अमेरिकामा २ करोड ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने ५ लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया