नेपाल शान्तिकाे नयाँ युगमा प्रवेश गरेकाे छ : प्रधानमन्त्री ओली

 फागुन २६, २०७७ बुधबार १७:३८:२४ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालले २० औँ स्थापना दिवसका अवसरमा बुधवार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा परिषद्का अध्यक्षसमेत रहनुभएका ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । 

हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलाधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उहाँले पृथकतावादी सोचलाई समेत टुङ्ग्याएको बताउनुभयो । ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।’ यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उहाँको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पार्नुभयो ।  छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै उहाँले केही समस्या भए वार्ताका माध्यमबाट नै हल गरिने स्पष्ट पार्नुभयो । उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालयको स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिनुभयो ।  

नेपाली सेनाको परिचालन र प्रयोग सही ढङ्गले हुँदै आएको बताउँदै उहाँले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट गर्नुभयो । ‘ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उहाँले जोड दिनुभयो । 

असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसङ्ग जनाउँदै प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गर्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनाका लागि उल्लेखनीय योगदान दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो,  ‘सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ ।’ 

विश्वसनीय र भरपर्दो निकाय नेपाली सेनाले सेवा र निर्माणका क्षेत्रमा नागरिकको मन छुने गरी काम गर्दै आएको प्रधानमन्त्रीले बताउनुभयो । कतिपय समयमा सेनालाई अनावश्यक विवादमा तान्ने कामसमेत भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सेनाले आफ्नो प्रतिष्ठा जोगाएर काम गर्दै आएको छ भन्नुभयो । ‘सेना जस्तो संस्थालाई वादविवादमा तान्न उचित हुन्न’, उहाँले जोड दिनुभयो ।  

नागरिकलाई भ्रममा पार्ने तत्त्वसँग सचेत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले मूल कानुन संविधान मानेर सबै अघि बढ्नुपर्ने सुझाव दिनुभयो । परिषद्को स्थापना लड्न र भिड्नलाई मात्र नभएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यसको काम शान्ति सुरक्षाको वातावरण कायम गर्नुभएको जनाउनुभयो ।  

त्यस अवसरमा प्रधानमन्त्री ओलीले परिषद्को सचिवालयको हाताभित्र वृक्षरोपणसमेत गर्नुभएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परिषद्का सदस्य गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव एवम् परिषद्का सदस्य सचिव रेश्मीराज पाण्डे, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते गरिएको हो ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया