एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

 चैत ३, २०७७ मंगलबार ६:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ ।

एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको तर त्यो खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओको भनाइ छ ।

बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् । यसैबीच थाइल्याण्ड्सका प्रधानमन्त्री प्रयुत चान ओचाले आज एस्ट्राजेनेकाकै खोप लगाउनुहुने भएको छ । रगत जम्ने खतरा देखिएको भन्दै थाइल्याण्डले पनि शुक्रवार एस्ट्राजेनेकाको खोप लगाउन रोकेको थियो ।

तर खोप सुरक्षित रहेको भन्दै प्रधानमन्त्री ओचाले आज खोप लगाउन लाग्नुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । मन्त्रिपरिषद्का सदस्यमध्ये ६० वर्ष उमेर पूरा भएका अरु मन्त्रीलाई पनि भोलि खोप लगाउने कार्यक्रम रहेको थाइल्याण्ड्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया