मीना हत्या प्रकरण : परिवारका चार सदस्यलाई थुनामा राख्न आदेश

 चैत ५, २०७७ बिहीबार १४:३५:४३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी २२ वर्षीया मीना ढोली हत्या अभियोगमा बिहीवार परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत डोटीले आदेश दिएको छ । 

हत्या अभियोगमा मृतक मीनाका श्रीमान्, ससुरासहित परिवारका चार सदस्यलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । गएको फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने भन्दै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा जाहेरी दिएपछि घटनाको अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले जानकारी दिनुभयो ।

जाेशीका अनुसार हत्यामा संलग्न भएको र हत्यामा सघाउ पुर्‍याएकाे आरोपमा मीनाका श्रीमान् प्रकाश दमाई, ससुरा प्रेम दमाई, सासु दुर्गा दमाई र दुर्गाको बहिनी रम्भा दमाईलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । हत्यापछि परिवारका सदस्यले घटना लुकाउने प्रयास गरेका कारण उनीहरु पनि दोषी देखिएको प्रहरीको भनाइ छ ।

यसरी भयो घटना 

गएको फागुन ६ गते बिहान ८ बजे मीना घाँस काट्न गइन् । उनी दिउँसो २ बजे मात्रै घर फर्किइन् । ‘मैले यति ढिलो किन गरेको भनेर सोधेँ, उनी झर्केर बोल्न थालिन्’, प्रकाशले भने, ‘आमाबुबाले उनलाई सम्झाउन खोज्दा उल्टो उनीहरुलाई समेत गाली गर्न थालिन् ।’ परिवारका सदस्यबीच भनाभन भयो । साँझ खाना खाएपछि प्रकाशलगायत परिवारका अन्य सदस्य गफ गर्न थाले । मीना कोठामा सुत्न गइन् । केही बेरपछि प्रकाश कोठामा गए । दिउँसोकै कुरामा फेरि दुवैको विवाद सुरु भयो । प्रकाशले प्रहरी समक्ष बयानमा भने, ‘श्रीमतीले आमा छोएर गाली गरिन्, म आवेशमा आएँ, त्यसपछि कसरी घटना भयो थाहा भएन । जस्तै झगडा भए पनि आफ्नै श्रीमतीलाई मार्न त कसले चाहन्छ र ? तर के–के भयो थाहै भएन ।’ 

प्रहरीका अनुसार प्रकाशले पहिले घाँटी च्यापेर मीनाको हत्या गरे । त्यसपछि उनकै दुपट्टाले उनलाई झुण्ड्याए अनि ‘मीनाले पासो लगाइ’ भन्दै आमाबुबालाई खबर गरे । प्रकाशका बुबा प्रेमले हत्तनपत्त हँसियाले दुपट्टा काटे, उनलाई जिउँदै छ भन्ने आश थियो तर उनको पहिल्यै मृत्यु भइसकेको थियो । परिवारमा सल्लाह भयो, अब के गर्ने ? अनि मुटु दुखेको बहाना बन्यो । त्यही सूचना छिमेकलाई पनि गयो, मृतकका माइतीलाई पनि । पहिलेदेखिको खटपटका कारण माइती पक्ष यो बहाना मान्न तयार भएन । माइती पक्षले आफ्नी छोरीको हत्या भएको रिपोर्ट प्रहरी समक्ष बुझाएपछि अनुसन्धान गर्दै जाँदा घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया