अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष

 चैत ६, २०७७ शुक्रबार ११:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकाय (ईएमए)ले निष्कर्ष निकालेको छ ।

ईएमएको समीक्षाका क्रममा अक्सफर्ड-एस्ट्राजेनेकाकाे खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्णरूपमा नकार्न नसकिने ईएमएले जनाएको छ ।

यो खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने आशङ्काकाबीच युरोपेली सङ्घका १३ देशहरूले खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । इटली, स्पेन र जर्मनीसहितका केही देशले भने यो खोपको प्रयोगलाई आजदेखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।

स्वीडेनले निर्णय लिनका लागि आफूलाई केही दिन चाहिने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो खोपको प्रयोग जारी राख्न आग्रह गरेको छ । यो खोपको सुरक्षाबारे आज डब्लूएचओले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ । 
 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया