पाँचथरमा चौँथो फालेलुङ चौरी पर्यटन महोत्सव आयोजना हुने

 चैत २१, २०७७ शनिबार १२:४२:१२ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिकामा वैशाख १ गते चौँथो फालेलुङ चौरी पर्यटन महोत्सव २०७८ आयोजना हुने भएको छ ।

फालेलुङ गाउँपालिका–४ मा रहेको तिनसिमाना क्षेत्रमा महोत्सव आयोजना हुने भएको हो । दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवर्धन संस्था, कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाको संयुक्त आयोजनामा महोत्सव हुने दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावा राईले जानकारी दिनुभयो ।

परम्परागत चौरी पालनलाई व्यवस्थित र व्यावहारिक तरिकाले पालन गरि दिगो आयआर्जन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रवर्धकमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नम्बर वडाको कार्यालय रहेको छ । महोत्सवमा चौरी तथा याकको प्रजातिहरुको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शनी, चौरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री, तीनसिमाना क्षेत्रको मनोरम दृश्यहरुको दृश्यावलोकन, गोठ स्टेको अनुभव लिन सकिने बताइएको छ ।

महोत्सवमा छिमेकी देश भारतसहित भुटानबाटसमेत अवलोकन गर्न आउने आयोजकले अपेक्षा गरेको छ । २०७४ सालदेखि आयोजना हुँदै आएको चौरी महोत्सव गएको वर्ष भने कोरोना भाइरसका कारण आयोजना हुन सकेन ।

अन्तिम अपडेट: चैत २६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया