इन्डोनेसियामा बाढी र पहिराेबाट ज्यान गुमाउनेकाे संख्या १५० नाघ्यो

 चैत २४, २०७७ मंगलबार १३:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इन्डोनेसिया र तिमाेर लेस्तेमा बाढी र पहिरोबाट ज्यान गुमाउनेकाे सङ्ख्या १५० नाघेकाे छ ।  अझै पहिराे र बाढीमा दर्जनाैँ हराइरहेका त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् । 

बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने तिमोर लेस्ते​ बढी प्रभावित भएकाे बीबीसीले जनाएकाे छ । यस प्रकोपबाट इन्डोनेसियामा १३० र  तिमाेरमा २७ जनाको ज्यान गइसकेकाे इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । तिमाेरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको ज्यान गइसकेकाे बीबीसीमा उल्लेख छ । 

इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराइरहेका र उनीहरुकाे खोजी तथा उद्धार कार्य भइरहेकाे त्यहाँकाे विपद् व्यवस्थापन निकायले जनाएकाे छ । बाढी पहिरोका कारण करिब दश हजार घरसहित भौतिक संरचनामा क्षति पुगेको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको छ  । 

वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुमा आउने बाढी र पहिरोकाे कारण सयाैँ मानिसकाे ज्यान जाने गरेकाे छ। गएकाे जनवरीमा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ सहरमा आएको बाढीमा कम्तीमा ४० व्यक्तिको ज्यान गएकाे थियाे। त्यसैगरी गएकाे सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परेर ११ व्यक्तिले ज्यान गुमाएका थिए । 

त्यहाँको आधा जनसङ्ख्या बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा बसोबास गरिरहेका विपद्सम्बन्धी विभिन्न तथ्याङ्कमा उल्लेख छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया