कोरोना सङ्क्रमण बढ्दै गएपछि दिल्लीमा अप्रिल ३० सम्म रात्रिकालीन कर्फ्यु

 चैत २४, २०७७ मंगलबार १३:२४:३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि भारतको राजधानी दिल्लीमा मङ्गलवार (आज) देखि लागू हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । राति दश बजेदेखि बिहान पाँच बजेसम्मका लागि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ । 

दिल्ली सरकारका अनुसार यो कर्फ्यु अप्रिल ३० सम्म लागू हुनेछ ।

सोमवार दिल्लीमा तीन हजार पाँच सय ४८ जना कोरोना सङ्क्रमित थपिएका थिए, त्यस्तै १५ जनाको ज्यान गएको थियो ।

योसँगै दिल्लीमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ७९ हजार नौ सय ६२ पुगेको बीबीसीले जनाएको छ । अहिले दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय ८९ रहेको छ । 

यद्यपि स्वास्थ्यकर्मीहरूका लागि रात्रिकालीन कर्फ्यु लागू नहुने दिल्ली सरकारले जनाएको छ । साथै एअरपोर्ट, रेल स्टेशन या बस स्टेशन जानेहरूले टिकट देखाउनुपर्नेछ । यस्तै अत्यावश्यक सेवामा पनि कर्फ्यु लागू नहुने जनाइएको छ । 

भारतमा केही हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढ्न थालेको छ । गएको २४ घण्टामा ९६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया