दक्षिण एसियामा कोरोना सङ्क्रमण दर तीव्र, भारतमा एकैदिन १ लाख १५ हजार बढी सङ्क्रमित

 चैत २५, २०७७ बुधबार ७:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एएफपी

काठमाण्डाै – दक्षिण एसियाली देशहरुमा कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलन थालेको छ । भारत, बङ्गलादेश, पाकिस्तानलगायत देशहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।

काेराेना सङ्क्रमणकाे सबैभन्दा धेरै असर भारतमा परेको छ । भारतमा एकैदिन १ लाख १५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै नयाँ रेकर्ड कायम भएको छ । योसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड २७ लाख ९९ हजार पुगेको छ ।

कोरोना सङ्क्रमण सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६ सय ३१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २ सय नाघेको छ । भारतमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । सङ्क्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कर्फ्युसमेत लगाइएको छ । धेरै सङ्क्रमण देखिएका अन्य प्रदेशमा पनि कडाइ सुरु भएको छ ।

यस्तै दक्षिण यसियाली देशहरुमध्ये बङ्गलादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा ७ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने ६६ जनाको ज्यान गएको छ । सङ्क्रमण बढ्न थालेपछि बङ्गलादेशमा लकडाउन सुरु भएको छ ।

यस्तै पाकिस्तानमा पछिल्लो २४ घण्टामा १०३ जनाको ज्यान गएको छ भने झण्डै ४ हजार संक्रमित थपिएका छन् । सङ्क्रमण बढेपछि भएपछि अप्रिल १० देखि पाकिस्तानमा अन्तरप्रदेश यातायात सेवामा रोक लगाइएको छ । भारत, बङ्गलादेश र पाकिस्तानमा सङ्क्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको डर बढेको छ । भुटान र अफगानिस्तानमा भने सङ्क्रमण नियन्त्रण उन्मूख रहेको देखिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया