नवीन्द्रराज जोशीलाई सम्झिंदै देउवाले भन्नुभयाे, ‘पार्टीको नेतृत्व गर्न सक्ने नेता गुमायाैँ’

 चैत २५, २०७७ बुधबार १२:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभएको छ ।

स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३ औँ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टीले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।

फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताउनुभयो । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवा गर्नुभयो । उहाँले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो ।

“यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ ” उहाँले भन्नुभयो “पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाइज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।”

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले स्वर्गीय जोशीले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया