‘कर्मचारीकाे व्यवहार, कार्यशैलीद्वारा निजामती सेवाप्रतिकाे धारणा सकारात्मक बनाउन सकिन्छ’

 चैत २५, २०७७ बुधबार १५:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताउनुभएकाे छ । 

बुधवार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्रशासनको मुख्य चुनौती भएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन । यसलाई सकारात्मक बनाउने काम हाम्रो हो । निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो । हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो । अनुशासित, मर्यादित रूपमा कर्तव्यनिष्ठ भइ निष्पक्ष र पारदर्शी ढङ्गले विना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्छ, हामी सबैले भन्दै आएको मान्यता हो । यो सेवालाई भ्रष्टाचारमुक्त बनाउने दायित्व पनि हाम्रै हो ।’

निजामती सेवालाई सबल र सक्षम बनाउन सेवाभित्रका कर्मचारीको क्षमता विकास गर्ने र उनीहरूको मनोबल बढाउने कार्यक्रमहरू ल्याउनुपर्ने बताउनुभयो । ज्ञान र सीपमा लगानी नगरि प्रतिस्पर्धामा उत्रन नसक्ने पनि मुख्य सचिव वैरागीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजामती सेवालाई सबल र सक्षम बनाउन सेवाभित्रका कर्मचारीहरूको क्षमता विकास हुनुपर्छ, तीनको मनोबल उच्च बनाउनुपर्छ, तीनलाई सधैँ उत्प्रेरित बनाउनुपर्छ भन्ने मान्यता हामीले राख्दै आएका छौँ, भन्दै आएका छौँ तर गर्ने कसरी रु ज्ञान र सीपमा लगानी नगरि हामी प्रतिस्पर्धामा खरो उत्रन पटक्कै सक्दैनौँ । अब यो सोच हामीले त्याग्नुपर्छ । परम्परागत शैलीबाट हामी अगाडि बढ्नै सक्दैनौँ ।’

निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको पनि मुख्य सचिव वैरागीले बताउनुभयो । देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया