नवीन्द्रराज जाेशीकाे निधनले कांग्रेसलाई ठूलाे क्षति पुगेकाे छ : नेता पाैडेल

 चैत २५, २०७७ बुधबार २०:१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवीन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । 

नेपाली कांग्रेस काठमाण्डाै जिल्ला कार्यसमितिले बुधवार स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिका दिन राष्ट्रिय सभा गृहमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्नु हुँदै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदीयमान नेताको निधनले कांग्रेसलाई अपूरणीय क्षति भएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘नवीन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ, एउटा अत्यन्त लोकप्रिय नेता, विचारवान् नेता, विचारशील नेता र कार्मशील नेता, कर्म र विचार दुई वटैको संयोग, इमानदारिता र योग्यता दुई वटैको संयोग नवीन्द्रराज जोशी एक होनहार, उदीयमान नेता आज नेपाली कांग्रेसले गुमाएको छ । यो घडीमा हामी सम्पूर्ण कांग्रेसजन, नेपालका लोकतन्त्रवादीहरू र नवीन्द्रजीका सबै शुभचिन्तक, परिवारजनदेखि लिएर नेपालका सबै सचेत नागरिक यो अभावलाई, उहाँको यो निधनलाई अत्यन्त ठूलो क्षतिको रूपमा लिएका छन् सबैले र लोकतान्त्रिक आन्दोलनको उदीयमान ताराको अस्त भएको छ ।’

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्रिक आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरि लड्दै आउनुभएको कुरा पनि वरिष्ठ नेता पौडेलले स्मरण गर्नुभयो । अनुचित किसिमका सम्झौता जतिसुकै दबाब परे पनि स्वीकार नगरि देश र नागरिककाे सेवामा खटिने निष्ठा र नैतिकताको प्रतीक नवीन्द्रराज जोशी रहनुभएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया