भारत कोरोनाको हटस्पट बन्दै, उत्तर प्रदेशका तीन जिल्लामा रात्रिकालीन कर्फ्यु

 चैत २६, २०७७ बिहिबार १२:१८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ ।

लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई भने ओहोरदोहोर गर्न दिइनेछ ।

योबाहेक उत्तर प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँ  र हरेक दिन एक सयभन्दा बढी नयाँ बिरामी भेटिएका ठाउँमा पनि राति कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले परिस्थिति हेरेर थप निर्णय गरिने बताउनु भएको छ ।

उत्तर प्रदेशमा हिजो ६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै एक लाख २६ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेकाको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा गएको २४ घण्टामा  ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६६ हजार ८ सय ९२ पुगेको छ । भारतमा अहिलेसम्म एक करोड ९२ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ ।

त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया