काेराेना महामारीमा आईपीएल कतै 'टाइम बम' त हुँदैन ?

 चैत २६, २०७७ बिहिबार १३:५५:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहरले उग्र रूप लिएको छ र यसैबीच क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्ने तयारी भइरहेको छ । 

यही शुक्रवारदेखि आईपीएलको सुरुवात हुँदैछ जसमा आठ टोलीले भारतका अलग–अलग स्टेडियममा ६० खेल खल्ने छन् । प्रतियोगिताको फाइनल मे ३० मा खेलिनेछ । 

यो प्रतियोगिता दिल्ली, मुम्बई, बेङ्ग्लोर, अहमदाबाद र कोलकातामा खेलाइनेछ । यी ती सहर हुन् जहाँ कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । 

भारतमा एक लाख ६५ हजारभन्दा धेरै जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गइसकेको छ र एक करोड दुई लाखभन्दा धेरै जना सङ्क्रमित भइसकेका छन् । अप्रिलमा हरेक दिन औसत ९० हजार नयाँ सङ्क्रमित थपिइरहेका छन् । यसरी कोरोनाको दोस्रो लहर यसरी बढ्नुमा स्वास्थ्य मापदण्ड र निर्देशनको पालना नगर्नुलाई प्रमुख कारण मानिएको छ ।

आईपीएलका एक वरिष्ठ अधिकारीले आईपीएलको १४ औँ संस्करण ‘विना कुनै समस्या’ को आयोजना हुनेमा आफू विश्वस्त रहेको बताए ।  

बीबीसीआईका उपाध्यक्ष राजीव शुक्लाले समाचार एजेन्सी एएनआईसँग भने, ‘सुरक्षित बायो–बबल खेलाडी र प्रतियोगितासँग जोडिएका व्यक्तिका लागि तयार गरिएको छ । उनीहरूको कोरोना परीक्षण पनि गरिनेछ’, शुक्लाले भने । 

यस्ता सुरक्षा मानकलाई ध्यानमा राख्दै प्रतियोगिता विना कुनै समस्या सम्पन्न हुने उनले बताए । 

यस कुरालाई लिएर सबै जना आश्वस्त भने छैनन् । 

यो प्रतियोगिता सुरु हुनुभन्दा अघि नै चार खेलाडी र एक टोलीका सल्लाहकार कोरोना भाइरसबाट सङ्क्रमित भएका पाइएपछि उनीहरूलाई आइसोलेशनमा राखिएको छ ।   

बेङ्ग्लोरका देवदत्त पडिक्कल, दिल्लीका अक्षर पटेल र नीतिश राना पनि कोरोनाबाट सङ्क्रमित भएका छन् । 

बुधवार चेन्नई पुगेका बेङ्ग्लोर च्यालेन्जर्सबाट खेल्ने अस्ट्रेलियाली अलराउण्डर डानियल साम्स पनि कोरोना सङ्क्रमित भएका थिए, उनी कोरोना सङ्क्रमित हुने पहिलो विदेशी खेलाडी हुन् । 

मुम्बईको वानखेडे स्टेडियममा यो प्रतियोगिताको १० खेल आयोजना हुनेछ र यहाँका १० जना कर्मचारी पनि कोरोना सङ्क्रमित भएका छन् । 

आठ टोलीमध्ये पाँच टोली अहिले मुम्बईका अलग–अलग मैदानमा छन् र प्रशिक्षण लिइरहेका छन् । तर मुम्बई कोराना भाइरसको दोस्रो लहरबाट सबैभन्दा प्रभावित सहर हो । 

द टाइम्स अफ इण्डिया दैनिक पत्रिकाले ‘आईपीएलमाथि कोभिडको कालो बादल’ शीर्षक लेख्दै प्रश्न गरेको छ– ‘दर्शक नहुने भए प्रतियोगिता ६ सहरमा किन खेल्नुपर्यो ? गएको वर्ष जस्तै यूएईमा किन प्रतियोगिता सारिएन ?’

अर्काे प्रश्न छ– के यो संस्करण अब टाइम बम हो ?

टोली एक सुरक्षित अवस्थामा रहिरहेको र बाहिरका कोहीसँग पनि सम्पर्कमा नआउने बताइएको छ । बोर्डले प्रत्येक टोलीलाई सम्पर्कहीन बस्ने नियम पालना गराउन एक–एक जना व्यवस्थापक खटाउने एक समाचारमा जनाइएको छ । 

क्रिकेटसम्बन्धी स्काेरसहित विभिन्न समाचारमूलक जानकारी दिने साइट ईएसपीएनक्रिकइन्फोका अनुसार मुम्बई स्टेडियमका कर्मचारीलाई प्रत्येक दुई दिनको फरकमा कोरोना परीक्षण गरिएको छ । 

यद्यपि प्रतियोगिता सुरक्षित राख्न गाह्रो हुने बताइएको छ । 

आठ टोलीका झण्डै दुई सय खेलाडी छन् र सयौँ अन्य व्यवस्थापक, कर्मचारी, प्रत्यक्ष प्रसारण टोलीका सदस्य, मैदानका कर्मचारी, खाना व्यवस्था गर्नेहरु छुट्टा–छुट्टै एकान्तवासमा रहेका छन् । त्यस्तै एक्लै आईपीएलको प्रसारण गर्ने च्यानल स्टार स्पोर्ट्सका नै सात सय स्टाफ छन्, सय जना कमेन्टेटर छन् र यी सबै आठ स्थानमा एकान्तवासमा रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।  

आईपीएलका एक अधिकारीले नाम नखुलाउने सर्तमा बीबीसीसँग भने, ‘अधिकारीहरूले एक ठूलो जोखिम लिएका छन् र एउटा मात्रै एकान्तवासमा समस्या भयो भने प्रतियोगिता नै अप्ठेरोमा पर्छ ।’

भारतका पूर्वकप्तान तथा बोर्डका प्रमुख सौरभ गाङ्गुलीले गएको वर्षको आईपीएलले एक पटक सबै प्रणालीमा आएपछि र एकान्तवासमा बस्दा सबै कुरा नियन्त्रित हुने बताएको समाचार प्रकाशित भएका छन् ।
तर क्रिकेट खेलाडीहरू सुपरस्टार हुने भारतीय सहरहरूमा एकान्तवास र सुरक्षालाई पूर्ण पालना गराउनु कठिन हुने काम हुन सक्छ।

गएको वर्ष यूएईमा प्रतियोगिता गर्दा भारतमा अहिलेको भन्दा कम सङ्क्रमण दर थियो, खेलहरू तीन ठाउँमा मात्रै खेलिएका थिए र अहिलेको जस्तो हवाई यात्राको आवश्यकता थिएन ।

अहिले आईपीएल रद्द गर्दा भारतीय क्रिकेट बोर्डलाई ठूलो घाटा पर्छ । गएको वर्ष आईपीएल रद्द गरिएको भए सञ्चार अधिकारबाट हुने आम्दानीमा मात्रै ५० करोड डलर घाटा लाग्ने आँकलन गरिएको थियो ।
‘यो प्रतियोगितामा धेरै पैसा भएको कुरा साँचो हो । आईपीएलले घरेलु क्रिकेटमा पनि ठूलो पैसा ल्याउँछ तर व्यक्तिगत रूपमा मलाई लाग्छ आईपीएल नखेल्नुपर्थ्यो’, विज्डन इण्डिया अल्मन्याकका सम्पादक सुरेश मेननले बीबीसीलाई बताए।  

मेननका अनुसार सङ्क्रमण भएका प्रतियोगिता रद्द गर्ने अवस्था आउँछ । त्यसपछि अर्को आईपीएलसम्म भारतीय क्रिकेटको पात्रोमा खाली मिति छैन– यसबीच भारतले १४ टेस्ट, १२ एकदिवसीय खेल र २२ टी–२० खेल खेल्नेछ । यसमा भारतमा अक्टोबरमा आयोजना हुने टी–२० विश्व कप भने समावेश छैन ।  

मेनन भन्छन्, ‘ व्यवस्थित एकान्तवास, खेलाडीको अनुशासन र भाग्य मिलेको कारण महामारीको वर्ष २०२० मा भारतीय क्रिकेटमा कुनै नराम्रो घटना भएन तर यस्तो अवस्थामा खेल्नु पर्दाको मानसिक दबाबलाई अवमूल्यन गर्न मिल्दैन ।’   

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया