काेराेना सङ्क्रमणकाे 'चेन' लाई 'ब्रेक' गर्नुपर्ने अवस्था आइसकेकाे छ : प्रवक्ता गाैतम

 चैत २७, २०७७ शुक्रबार १३:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । काेभिड–१९ सङ्क्रमणको दर बढेसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । 

२५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । शुक्रवारकाे कुराकानीमा प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अहिले देखिएका सङ्क्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र सङ्क्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पूरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जनाभन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ । जस्तो स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरू सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौँ । यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु । अहिले छिटपुट रूपमा कोभिड–१९ का केसहरू गएको महिनाको भन्दा बढेर गयो । अस्पतालमा आईसीयूमा बिरामीहरु धेरै नै भर्ना भइसकेका छन् । त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौँ भने फेरि सङ्क्रमण एकदम बढेर जान्छ ।’

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताउनुभयो । त्यसका लागि भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताउनुभयो । यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेसालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कहीँ न कहीँ कोरोना सर्ने जुन साइकल छ, ट्रास्मिसन हुने जुन चेन छ, त्यसलाई ब्रेक गर्नुपर्छ । त्यो ब्रेक गर्नु भनेको भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइज गर्ने र लक्षण देखियो भने तुरुन्त जाँच गराएर उपचार पनि गर्ने, त्यो गर्नका लागि हामीले भिडभाड हुने सबै व्यवसाय, पेसालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्न चाहिँ मिल्छ तर त्यो भनेको के हो भने भिडभाड नगरेर डिस्टेन्स कायम नगरिकन अब कुनै पनि काम गर्न मिल्दैन भनेको हो ।’

छिमेकी देशमा कोभिड सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शङ्कास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सीमा नाकामा र अन्त शङ्कास्पद देखिएका ठाउँमा एन्टिजेन टेस्ट गर्‍याैँ भने छिटो व्यवस्थापन गर्न सकिन्छ । जो पोजेटिभ आयो उसलाई आइसोलेशनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेशन सेन्टरमा पठाउने र जो नेगेटिभ आयो उसलाई घरमै क्वरेण्टीनमा बस्नु भनेर पठाउने, पाँच वटा मास्क पनि दिएर पठाउने, १० वटा मास्क दिएर पठाउनु भनेका थियौँ हामीले कतिपय ठाउँमा मास्कको पनि सप्लाइ  हुँदै होला, पाँच वटा दिएर पठाएको भन्ने रिपोर्ट आएको छ । त्यसरी पठाउने एउटा सीमाको कुरा यो भयो ।’

पछिल्लो समय देखिएका सङ्क्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको पनि प्रवक्ता गौतमले बताउनुभयो । त्यसैले अहिले नै कोभिड सङ्क्रमण भएका धेरै बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘लक्षणहरू उस्तै हो तर लक्षणहरू अलि जटिल देखिइराखेका छन् । मान्छेहरू बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नुपर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । त्यसको मतलब सङ्क्रमण भएकाहरूमा जटिल लक्षणहरू धेरै देखिएको छ । जहाँ जटिल लक्षण धेरै देखिन्छ, त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ ।’

गएकाे वर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । गएकाे वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको तर यस पटक औषधि भन्दा पनि अक्सिजन र रोगसँग लड्नुपर्ने अन्य सामग्रीहरूको जोहो गर्नुपर्छ भन्ने थाहा भएकोले त्यहीअनुसारको तयारी गरिएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया