मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

 चैत २७, २०७७ शुक्रबार १९:५१:५८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड केयूकेएल ले पानी वितरणका क्रममा समस्या देखिएका ठाउँमा तत्काल मर्मत गर्न थालेको छ । 

तत्काल समस्या समाधानका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न ठाउँमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ । विभिन्न ठाउँमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ ।’

लिमिटेडले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश ठाउँमा वितरण गरिरहेको छ । अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । पानी नआएको ठाउँमा कसरी सुधार गर्ने भनी लिमिटेडका कर्मचारीले हेरेर समाधान गरिरहेको उहाँले बताउनुभयो । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । अहिले सुन्दरीजलकाे दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो । अर्काे प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ । 

मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ । कतिपय ठाउँमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती ठाउँमा पनि पानी जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँकी ठाउँमा पनि मेलम्ची खानेपानी विकास समितिले पानी सुन्दरीजलमा झारेपछि हामी वितरण गर्न तयार छौँ ।’ 

लिमिटेडले अहिलेसम्म महाङ्काल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ । तीमध्ये खुमलटारकाे पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो । बाँकी ६ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन् । अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्रणालीमा पानी वितरण गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पोखरी र पाइपलाइनको परीक्षणको काम गरिरहेको छ ।  

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया