बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी

 चैत ३०, २०७७ सोमबार ११:३९:३० | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वनभित्र डढेलो लागेको छ । 

निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको डढेलो निकुञ्जको पश्चिम दक्षिण क्षेत्रमा फैलिँदै आएको हाे । निकुञ्ज क्षेत्रमा लागेको डढेलोको धुवाँले निकुञ्ज मध्यवर्ती क्षेत्रका बस्ती ढाकेको छ । 

निकुञ्जमा लागेको डढेलोका कारण पशुपक्षी, जनावर, बाेटबिरुवा तथा जडिबुटीहरु जलेर नष्ट हुने डर बढेकाे स्थानीयले बताएका छन्।

साथै, डढेलोको धुवाँले निकुञ्जको सुरक्षार्थ खटिएका सेना र निकुञ्जका कर्मचारी पनि प्रभावित भएका छन् । विशेषत बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्धारा लगायतका दुई दर्जनभन्दा बढी गाउँलाई केही दिनयतादेखि डढेकाे धुवाँले ढाकेकाे छ । 

डढेलोको धुवाँले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दामा आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, गाडि चलाउन गाह्रो हुनेलगायतका समस्या देखा परेको छ । 

धुवाँका कारण हिँडडुल गर्न र बाहिर निस्कन निकै समस्या परेको निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय केशव खनालले बताउनुभयो । बस्तीमा दिउँसोको तुलनामा राति र बिहानपख बढी धुवाँकाे प्रभाव पर्ने गरेकाे उहाँले बताउनु भयाे ।

दिउँसो हावा चल्ने हुनाले धुवाँको प्रभाव केही कम हुने भए पनि साँझ पर्नासाथ धुवाँले गाउँ ढाक्ने गरेको ठाकुरबाबा नगरपालिका-४ का वडाध्यक्ष शेरबहादुर थारुले बताउनुभयो । 

निकुञ्जले भने एकैपटक धेरै ठाउँमा डढेलो लागे निभाउन सम्भव नहुने बताएकाे छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया