प्रतिनिधि सभा बैठककाे शून्य समय : राेजगारीदेखि एमसीसीसम्मका विषय

 चैत ३०, २०७७ सोमबार १५:२४:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सांसदहरूले कोभिड–१९ का कारण देशकाे रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेशन (एमसीसी) लाई संसदमा बहसमा ल्याउनपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  

साेमवारकाे बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले एमसीसी कहिलेसम्म संसदमा विचाराधीन अवस्थामा रहने भन्दै तुरुन्त संसदमा बहसको विषय बनाउन माग गर्नुभयो । 

सांसद गगनकुमार थापाले कोभिड–१९ का कारण वैदेशिक तथा देशकाे उद्योग क्षेत्रमा धेरैले रोजगारी गुमाएको भए पनि पुनर्स्थापनाका बारेमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाउनुभयो । 

सांसद अञ्जना विशङ्खेले राज्य लोककल्याणकारी बनाउन राज्यका निकायलाई स्वायत्त रूपमा काम गर्न दिनुपर्ने बताउनुभयो । अर्का सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्तालाई सहज र सुलभ बनाउन समस्याका रूपमा रहेको नवीकरणको व्यवस्थालाई सहजीकरण गनुपर्नेमा जोड दिनुभयो ।

सांसद उमा रेग्मीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाइदिने आश्वासन दिने सरकारले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माग गर्नुभयो । सांसद कृष्णबहादुर राईले अधिकार सम्पन्न एकीकृत वाग्मती समितिको प्रमुखमा धेरै व्यक्ति परिवर्तन भए पनि उद्देश्यअनुसार काम हुन नसकेको बताउनुभयो । 

सांसद खेमप्रसाद लोहनीले वर्तमान सरकारले विकास निर्माणमा तीव्ररूपमा काम गरिरहेको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । सांसद गङ्गा चौधरी सत्गौवाले राष्ट्र निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सांसद घनश्याम खतिवडाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर सरकारको राजीनामा माग्ने कुरा उचित नभएको बताउनुभयो ।

सांसद चाँदतारा कुमारीले प्रतिनिधि सभा फेरि विघटन हुने आशङ्काले सांसदहरू नै हतोत्साही अवस्थामा रहेको धारणा व्यक्त गर्नुभयो । अर्का सांसद छक्कबहादुर लामाले सडक सञ्जालले नछाेएको एकमात्र जिल्ला हुम्लामा भोकमरी हुन नदिन हवाई माध्यमद्वारा खाद्यान्न ढुवानी बढाउन सरकारसँग माग गर्नुभयो ।  

तस्बिर : रासस

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया