भारतले रुसी खोप स्पुतनिक 'भी'लाई अनुमति दियो

 चैत ३१, २०७७ मंगलबार १३:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले रुसमा बनेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ ।

रुसमा बनेको स्पुतनिक 'भी' खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि भारतका विज्ञ समूहले त्यहाँ यो खोपको आपत्कालीन प्रयोगका लागि सिफारिस गरेको थियो । योसँगै भारतमा अब कोरोना विरुद्धको तीन वटा खोप प्रयोगमा आउने छन् ।

सेरम इन्स्टिच्यूट अफ इण्डिया र अक्सफोर्ड एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिसिल्ड खोप तथा बायोटेक कम्पनीले उत्पादन गरेको खोप अहिले प्रयोगमा छन् भने अब रुसको स्पुतनिक 'भी' खोप पनि प्रयोगमा आउने भएको हो । रुसमा बनेको खोपलाई भारतसमेत गरेर विभिन्न ६० देशले प्रयोग गर्न अनुमति दिएका छन् ।

भारतमा गएको २४ घण्टामा १ लाख ६१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतमा सक्रिय कोरोना सङ्क्रमितको संख्या १२ लाख ६४ हजार ७ सय पुगेको छ । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण भारतभर ८७९ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजारभन्दा धेरै छ ।  भारतमा १० करोड ८५ लाख ३३ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया