अमेरिका र चीन जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्न सहमत

 बैशाख ५, २०७८ आइतबार १५:१:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । दुई शक्ति राष्ट्रले संयुक्त विज्ञप्ति निकालेर आफूहरु कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गन सहमत भएको बताएका हुन् ।

अमेरिका र चीनका जलवायु परिवर्तन विशेष दूत जोन केरी र सी झेनहुआ बीच गएको हप्ता चीनको शङ्घाईमा वार्ता भएको थियो । वार्तापछि आइतवार (आज) निकालिएकाे विज्ञप्तिमा दुई देशले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका सवालमा सहकार्य तथा मिलेर काम गर्न प्रतिबद्ध भएका बीबीसीले जनाएको छ ।

दुई देशले निकालेका संयुक्त विज्ञप्तिमा भनिएकाे छ, ‘अमेरिका र चीन जलवायु सङ्कटकाे सामना गर्नका लागि एक अर्का र अन्य देशसँग सहयाेग गर्नका लागि प्रतिबद्ध छन् । यस सङ्कटलाई गम्भीर भएर र तुरुन्त घटाउन आवश्यक छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो बिहीवार र शुक्रवार अनलाइनमार्फत जलवायु सम्मेलन गर्दै हुनुहुन्छ । ४० देश सहभागी हुने त्यो सम्मेलनलाई लिएर चीनले आफू निकै उत्साहित भएको बताएकाे पनि बीबीसीले जनाएको छ ।

अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको बताएका छन् । उनीहरू विकासशील देशहरूलाई सक्दो कम कार्बनयुक्त ऊर्जा उत्पादनका लागि आर्थिक सहयोग गर्न पनि सहमत भएका छन् ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया