युरोपका ठूला फुटबल क्लबले नयाँ लिग किन सुरु गर्न लागेका हुन् ?

 बैशाख ७, २०७८ मंगलबार १४:२३:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपका ठूला र चर्चित १२ फुटबल क्लब अलग भएर युरोपियन सुपर लिग बनाउने निर्णय विश्व फुटबलका लागि अहिलेसम्मकै सम्भवतः सबैभन्दा ठूलो झट्का हो । यद्यपि जानकारहरुका अनुसार वर्षाैँदेखि विश्व फुटबल जुन दिशामा गइरहेको थियो, यो त्यसको स्वाभाविक परिणाम हो । जसरी फुटबलको ढाँचामा धनको दबदबा बन्न दिइयो, त्यही कारण यो सङ्कट कहिले न कहिले निम्तिनु नै थियो । 

फुटबल विशेषज्ञका अनुसार युरोपियन सुपर लिगको गठनपछि युरोपेली फुटबल त्यो रुपमा अस्तित्वमा रहँदैन, जुन अवस्थामा अहिले छ । यसको असर विश्व फुटबलको ढाँचामा पर्ने बताइएको छ । खास कुरा त के छ भने विश्वभरका प्रतिभाशाली खेलाडी युरोपेली लिगमा खेल्छन् । यद्यपि फ्रान्स या जर्मनीका कुनै क्लब अलग हुने भनेर घोषणा गर्ने समूहमा समावेश छैनन् । तर जानकारहरुका अनुसार अघि पनि यस्तो नहोला भन्ने कुनै ग्यारेन्टी छैन । 

जर्मनी र फ्रान्सका अतिरिक्त लिग फुटबलका तीन सबैभन्दा ठूला युरोपेली देश– बेलायत, इटली र स्पेनका १२ क्लबले आफ्नो अलग लिग बनाउने निर्णय गरेका छन् । यिनमा म्यानचेस्टर युनाइटेड, लिभरपुल, बार्सिलोना एफसी, रिया मड्रिड, युभेन्टस र एसी मिलान समावेश छन् । अझै पनि व्यवस्थाका अनुसार खेलाडी क्लबका ‘सम्पत्ति’ हुन्छन् । तर यी क्लब विश्व या युरोप च्याम्पियनशिपका लागि राष्ट्रिय टोलीका खेलाडी उपलब्ध गराउन बाध्य हुन्छन् । यसको सट्टामा राष्ट्रिय टिमले उनीहरुलाई रकम दिन्छन् । जुन समय युरोपेली च्याम्पियनशिप या अरु महादेशका च्याम्पियनशिप प्रतियोगिता या फिफा विश्व कप फुटबल प्रतियोगिता हुन्छ, त्यस समय लिगमा बिदाको समय राखिन्छ । अर्थात् लिग र फिफाका अनुसार आउँदा प्रतियोगिताका कार्यक्रम तालमेलका साथ बनाइन्छ । अब बन्ने नयाँ लिगको राष्ट्रिय फुटबल सङ्घ या फिफासँग के सम्बन्ध हुनेछ, यो थाहा छैन । 

जुन १२ क्लबले अलग हुने घोषणा गरेका छन्, उनीहरुसँग विश्वका सबैभन्दा चर्चित खेलाडीहरु नै धेरै अनुबन्ध छन् । घोषणाका अनुसार नयाँ लिगको सुरुवात यही वर्षको अगस्टमा हुनेछ । यसमा बेलायतका छ क्लब (आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड), स्पेनका तीन क्लब (एटलेटिको डी मड्रिड, बार्सिलोना एफसी र रियल मड्रिड) र इटलीका तीन क्लब (एसी मिलान, इन्टर मिलान र युभेन्टस) समावेश हुनेछन् । यी क्लबका तर्फबाट जारी गरिएको साझा विज्ञप्तिमा यस प्रतियोगिता सुरु हुनुअघि अरु क्लब पनि प्रस्तावित सुपर लिगमा जोडिनेछन् । 

यी क्लबका अनुसार कोरोना महामारीका कारण वर्तमान युरोपेली फुटबलको आर्थिक ढाँचा डगमगाएको छ । यही कारण युरोपेली फुटबल ढाँचालाई सहायता गर्न र मूल्य बढाउन यस्तो रणनीतिक दृष्टि र व्यापारिक नजरको आवश्यकता भएको बताइएको छ । तर तीन देशका राष्ट्रिय फुटबल सङ्घले यी क्लबको यस कदमको कडा निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले क्लबको यो कदम फुटबलका लागि निकै हानिकारक भएको बताउनुभएको छ । उहाँले यी क्लबविरुद्ध कुनै पनि कारबाहीको समर्थन गर्ने बताउनुभएको छ । इटलीका प्रधानमन्त्री मारियाे ड्राघीले प्रस्तावित सुपर लिगलाई एक बकवासको संज्ञा दिनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले यस कदमको हिस्सा नबनेकोमा आफ्नो देशका फुटबल क्लबको प्रशंसा गर्नुभएको छ । 

राष्ट्रिय फुटबल सङ्घले यी क्लबले आफ्नो आर्थिक हितको विकल्प चुनेको बताएको छ । जानकारहरुले केही क्लबले आफ्नो आर्थिक हित खतरामा आएको देखेपछि अलग भएर नयाँ लिग बनाउने निर्णय आश्चर्यजनक नभएको बताएका छन् ।   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया