अस्ट्रेलियाले ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द गर्यो, चीनले दियो चेतावनी

 वैशाख ९, २०७८ बिहीबार १३:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ । 

बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको थियो तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । खास कुरा के छ भने, यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो । 

अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द गर्ने सक्ने भिटो पावर दिइएको थियो । अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले एक विज्ञप्ति निकाल्दै सम्झौता रद्द हुनुको पछाडि विदेश नीति रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘म यी चार वटा सम्झौतालाई अस्ट्रेलियाको विदेश नीति या हाम्रो विदेशी सम्बन्धको प्रतिकूल मान्छु ।’ यो निर्णय बुधवार सार्वजनिक हुनुअघि चीनले यसमा आपत्ति जनाएको थियो ।

अस्ट्रेलियामा रहेको चिनियाँ दूतावासले यस कदमलाई ‘चीनविरुद्ध अस्ट्रेलियाले उठाएको एक अर्काे अनुचित र उत्तेजक कदम’ भएको बताएको थियो । चिनियाँ दूतावासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘चीन-अस्ट्रेलिया सम्बन्ध सुमधुर बनाउन अस्ट्रेलिया सरकारले कुनै इमानदारी नदेखाएको देखिन्छ ।’

अस्ट्रेलियाको यो कदम द्विपक्षीय सम्बन्धलाई हानी पुर्याउने र आफैँलाई क्षति पुर्याएर समाप्त हुने चिनियाँ दूतावासले बताएको छ । सन् २०१८ मा अस्ट्रेलियाले चीनको प्राविधिक कम्पनी हुवाईमाथि फाइभ जी नेटवर्कको लागि प्रतिबन्ध लगाएपछि यी दुई देशको सम्बन्ध तनावपूर्ण बनेको थियो ।

यस्तो प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश थियो र त्यसपछि धेरै पश्चिमी देशले यस्तो निर्णय लिएका थिए । बोल्ड एन्ड रोड इनिशिएटिभ अर्थात् ‘वान बेल्ट, वान रोड’ चीनको महत्त्वाकाङ्क्षी परियोजना हो ।

चीनले यस विशाल परियोजनालाई ऐतिहासिक ‘सिल्क रुट’ को आधुनिक अवतार बताउँदै आएको छ । सिल्क रुट मध्ययुगमा त्यो बाटो थियो, जसले चीनलाई युरोप एसियाको बाँकी देशसँग जोड्थ्यो। यही माध्यमबाट विभिन्न देशमा कारोबार हुन्थ्यो । 

अहिले चीन उही ढाँचामा विश्वमा सडक, रेलवे लाइन र समुद्री बाटोको मार्गचित्र कोर्न चाहन्छ, जसको माध्यमबाट विश्वभर सहज रुपमा कारोबार गर्न चाहन्छ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया