एनसेलले लैनचाैर खेल मैदानको निर्माण तथा संरक्षण गर्ने

 वैशाख ९, २०७८ बिहीबार २०:३६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले काठमाण्डाै लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्ने भएकाे छ । यस आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

यो हरित उद्यान काठमाण्डौ महानगरपालिका-२६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विशेषताहरु रहने छन्। यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको अहिलेकाे लैनचौर मैदानमा बन्ने छ ।

एनसेल र काठमाण्डौ महानगरपालिका-२६ ले हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । समझदारी अनुसार, एनसेलले काठमाण्डौ महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरहेकोे छ । 

ग्राउण्ड क्लियरेन्सको कार्य सम्पन्न गरी उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विषेशताहरु हुन् । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भन्नुभयाे 'सामाजिक आर्थिक विकासमा योगदान पुर्याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौँ । यो पहलले समुदायमा स्वस्थ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पुर्याउने छ । सरकारसँग सहकार्य गर्दै हरित उद्यान निर्माणका लागि योगदान पुर्याउन पाएकोमा हामी खुसी छौं ।'

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी)अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन)लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएको छ । औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ । 

एनसेलले विभिन्न सामाजिक पहलअन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकाेपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा १.२७ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुर्याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ ।  

वातावरण क्षेत्रअन्तर्गत, एनसेलले वन तथा भु-संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलङ्की सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ । झण्डै १०.२ किलोमिटर दूरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ । 

यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो । यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो ।

यस पहलको सफल कार्यान्वयन पछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’पनि घोषणा गरिसकेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया