मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोराेना जोखिम भत्ता

 वैशाख ११, २०७८ शनिबार १४:२:४ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोराेना सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् ।

जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो । जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताउनुभयो ।

“कोराेनाको पहिलो लहर सकिएर दोस्रो सुरु भयो, जोखिम उत्तिकै छ”, डा ठाकुरले गुनासो गर्दै भन्नुभयो, “गएकाे वर्षको भत्ता समेत दिइएको छैन, स्वाथ्यकर्मी र कर्मचारी निराश छन् ।”

प्रदेश नं १ सरकारले गत आर्थिक वर्षको चार महिना र चालु आर्थिक वर्षको छ महिनाको जोखिम भत्ता दिनुपर्ने हो । गएकाे आवको दुई महिना अर्थात् चैत र वैशाखको मात्र भत्ता सरकारले उपलब्ध गराएको थियो ।

अस्पतालले गएकाे आर्थिक वर्षको चार महिनाका लागि जोखिम भत्ता भुक्तानीका लागि सरकारसँग एक करोड २० लाख रुपैयाँ माग गरेको थियो । सरकारले दुई महिनाको ६० लाख रुपैयाँ मात्र पठाइदिएको अस्पतालका लेखा अधिकृत मनोज पोखरेलले बताउनुभयो । उहाँका अनुसार अग्रभागमा रहेर काम गर्ने ३२ जनाले एक सय प्रतिशत, मध्यभागमा रहेर काम गर्ने पाँच जनाले ७५ प्रतिशत र बाँकी १६९ जनाले ५० प्रतिशतका दरले दुई महिनाको मात्र भत्ता पाएका छन् । 

खुला सीमानाका कारण झापामा कोरोना सङ्क्रमणका बिरामी दैनिक बढिरहेका छन् । अस्पतालमा ७५ बेडको छुट्टै कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ । जिल्लामा दैनिक १२ देखि १५ जना काेराेना सङ्क्रमणका बिरामी भइरहेको डा ठाकुरको भनाइ छ । उहाँले अस्पतालको बेडमा भने हाल तीन जना मात्र बिरामी रहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया