‘नेपालमा दक्ष जनशक्ति नहुँदा ८ लाख कामदार भारतबाट ल्याउनुपरेको छ’

 बैशाख १८, २०७८ शनिबार १४:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा दक्ष जनशक्ति नहुँदा ८ लाख कामदार भारतबाट ल्याउनुपरेको बताउनुभएकाे छ ।

मजदुर दिवसको अवसरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले देशमा दक्ष जनशक्ति नहुँदा भारतबाट आठ लाख जना कामदार नेपालमा ल्याउनुपरेको गुनासो गर्नुभएकाे हाे ।

यस्तै श्रमिकसँगको सम्बन्ध सुधार भइरहे पनि यसलाई दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयाे । श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उहाँकाे भनाइ छ ।

महामारीको यो अवस्थामा सबैका प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रीत हुनु पर्नेमा गोल्छाको जोड छ ।

यस्तै नेपाली उद्योगले नेपाली कामदार नै काममा लगाउँछु भन्दा पनि जनशक्तिको अभाव रहेको उहाँकाे भनाइ छ। सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ, यसको व्यावहारिक समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया