चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
तनहुँ : सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो ।
चालु आर्थिक वर्षको असारदेखि अहिलेसम्म १८ जनाले आठ लाख ७० हजार रुपैयाँ फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो । यस अवधिमा व्यास नगरपालिकाका चार लाख रुपैयाँ, म्याग्दे गाउँपालिका भित्रकाका चार लाख ४० हजार र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ फिर्ता गरिएको छ ।
चालु आर्थिक वर्षमा आप्रवासन केन्द्रमा ९२ वटा मुद्दा परेका छन् । त्यसमध्ये व्यास नगरपालिकाका ३१, भानु नगरपालिकाका सात, शुक्लागण्डकी नगरपालिकाका १६, म्याग्दे गाउँपालिकाका २१ र अन्य स्थानीय तहका १७ मुद्दा छन् । आप्रवासन केन्द्रमा परेका उजुरीका आधारमा उनीहरूलाई रकम फिर्ता गराउन पहल गरिएको रानाले जानकारी दिनुभयो । “पीडित पक्षले मुद्दा दर्ता गराएपछि ठगी गर्नेलाई सम्पर्क गर्छौँ, प्रशासनको समेत सहयोग प्राप्त भएपछि ठगी गर्नेहरू डराएर पैसा लिएर आउने गरेका छन्”, उहाँले भन्नुभयो, “विदेश पठाइदिन्छु भनेर रु १८ लाखसम्म ठगी गरेको मुद्दा पनि आएको छ ।”
परियोजनाकै पहलमा विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएकालाई रु ७८ लाख ७४ हजार ८२८ क्षतिपूर्ति वितरण गरिएको छ । व्यास नगरपालिकाभित्रकालाई रु २७ लाख ६७ हजार ३०५, शुक्लागण्डकी नगरपालिकाभित्रकालाई रु १२ लाख ७२ हजार ४४२, म्याग्दे गाउँपालिकाभित्रकालाई रु छ लाख १९ हजार ८१ र अन्य स्थानीय तहकालाई रु ३१ लाख ३६ हजार क्षतिपूर्ति उपलब्ध गराइएको रानाले जानकारी दिनुभयो ।
कोभिड सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीको अवधिमा ५३ जनालाई विभिन्न देशबाट उद्धार गरिएको छ । त्यसमध्ये व्यास नगरपालिकाका सात, भानु नगरपालिकाका ११, शुक्लागण्डकी नगरपालिकाका ११, म्याग्दे गाउँपालिकाका ११ र अन्य स्थानीय तहका १३ जना छन् । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा यो परियोजना सञ्चालित छ । परियोजनामार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा आप्रवासन केन्द्र स्थापना गरिएको छ । आप्रवासन केन्द्रमा दुई परामर्शकर्ता खटाइएको छ ।
हालसम्म उक्त केन्द्रबाट दुई हजार ८३१ लाई परामर्श दिइएको छ । त्यस्तै ८१ जनालाई सीप तालिम सिफारिश गरिएको छ भने ७०३ को रिटर्नी सीप परीक्षण तथ्याङ्क सङ्कलन गरिएको छ । साथै यस अवधिमा ६१ जनालाई मनोसामाजिक परामर्श, ५६ लाई क्वारेन्टिनमै परामर्श र ६४ लाई आइसोलेशनमा परामर्श सेवा प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्नेजस्ता काम केन्द्रबाट प्रदान गरिन्छ ।
नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास ९स्वीस इन्टर कोअपरेशनसको प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने तेस्रो चरणको सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सञ्चालनका लागि जिल्लामा ग्रामीण सशक्तीकरण समाजले उक्त परियोजना सञ्चालन गर्दै आएको छ ।
परियोजनाका लागि श्रम तथा रोजगार मन्त्रालयले चार स्थानीय तहका लागि रु ७४ लाख ९७ हजार बजेट उपलब्ध गराएको थियो । परियोजनाका लागि चारवटा स्थानीय तहमा २४ कर्मचारी खटिएका छन् । व्यास नगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा पाँच÷पाँच कर्मचारी परियोजनाअन्तर्गत खटिएका छन् ।
परियोजना सञ्चालनपछि वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुष आफ्नो वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकार भएको परियोजनाका अध्यक्ष एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नेपालका ३९ जिल्लामा यो परियोजना लागू भएको छ । वार्षिक पाँच हजारभन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने जिल्ला छनोट गरी परियोजना सञ्चालन गरिएको बताइएको छ ।
–––
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।