अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाई कर्मचारीले चलाउने

 बैशाख १९, २०७८ आइतबार ७:३६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाई कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ ।

केन्द्रको शनिवार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाण्डौ उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका शाखामा एक चौथाई कर्मचारी राखेर सञ्चालन गराउने भनिएको छ ।

यस कार्यका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नेछ ।  काठमाण्डौ उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने, व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएकाे छ । 

कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन आदि) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माण गरिराख्ने निर्णय पनि गरिएको छ ।

ती निर्णयमा आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने गाडीका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा गाडी सञ्चालन गर्नेलगायत रहेको उपप्रधानमन्त्री एवं केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

काठमाण्डौ उपत्यकाकाे हकमा पर्यटन र अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड तथा नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वरेण्टीनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाका हकमा प्रदेश र पालिकाले सम्बन्धित निकाय सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने निर्णय भएकाे छ । साथै होम क्वरेण्टीनमा बसेकाहरूका सम्बन्धमा पालिकाले अनुगमन गर्ने, होटेल क्वरेण्टीनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल तिनका देश पठाइने प्रक्रिया अघि बढाउने भनिएको छ ।  

होटेल क्वरेण्टीनको नियम पालना नगर्ने नेपालीलाई कानुनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वरेण्टीनको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने उल्लेख छ । यसैगरी आमसञ्चारमाध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारण–प्रकाशन गर्न अनुरोध गर्ने तथा सम्बन्धित पालिकाले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने निर्णयमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया