बङ्गाल चुनाव : ममता बनर्जीकाे दललाई पछि पार्न भाजपाले लगाएकाे परिश्रम निरर्थक देखिँदै

 बैशाख १९, २०७८ आइतबार २१:८:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको पश्चिम बङ्गालमा ममता बेनर्जीको तृणमूल कंग्रेसकाे अत्यधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ ।

बङ्गालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधान सभा चुनावकाे मतगणना भइरहेको हो । नयाँ नेतृत्वका लागि गएकाे मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बङ्गाल, असम र पाँडेचरीमा चुनाव गरिएको थियो ।

पश्चिम बङ्गालको नन्दीग्राम क्षेत्रबाट झन्डै एक हजार दुई मत अन्तरले बनर्जी विजयी हुनुभएको छ । बनर्जीको दलले बाँकी दुई सय आठ क्षेत्रमा अग्रता कायम गरेको छ भने केन्द्र सरकारको नेतृत्व गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७९ स्थानमा अग्रता कायम गरेको छ । अरू दलको उपस्थिति नगन्य देखिएको छ । कुनै बेला राज्यको निरन्तर नेतृत्व गरेका वामपन्थी दलकाे जम्मा एक सिटमा अग्रता देखिएको छ । 

पश्चिम बङ्गालमा पाँच वर्ष पहिले निकै कम सिट ल्याएको भाजपाले यसपटकको चुनावमा निकै सुधार गरेको देखिएको छ । यद्यपि भाजपाले बनर्जीको दललाई पछि पार्न लगाएको परिश्रम भने निरर्थक हुने देखिएको छ । सन् २०१६ मा जम्मा तीन सिटमा समेटिएको भाजपाले ७५ सिट वरपर जित्न सक्ने देखिएको छ । 

यहाँबाट अघिल्लो चुनावमा ४४ सिट जितेको विपक्षी भारतीय कंग्रेसले आइतवारसम्ममा एक सिटमा मात्र अग्रता कायम गरेको छ । त्यसैगरी अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) पनि एक सिटमा समेटिने देखिएको छ । 

तमिलनाडुको दुई सय ३४ सदस्यीय विधान सभामा प्रतिपक्षी ड्रभिडा मुन्नेत्र काझागम (डीएमके) ले एक सय २९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआईएडीएमकेले ९० स्थानमा अग्रता लिएको छ । केरलाको एक सय ४० सिटको विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको वामपन्थी प्रजातान्त्रिक मोर्चाको अग्रता देखिएको छ । 

असमको एक सय २६ सदस्यीय विधान सभाका लागि भएको चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पाँडेचरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया