अमेरिकी डलरको भाउ फेरि बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्याधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो ।
एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उहाँको भनाइ छ ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११.५३ रुपैयाँ तय गरे पनि अहिले लागत मूल्य बढेका कारण १२.३३ रुपैयाँ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउनुहुन्छ । दानाको कच्चापदार्थको मूल्य अत्याधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो ६४ रुपैयाँमा आउने सामान्य भटमासको मूल्य बढेर १०८ रुपैयाँ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी ७० रुपैयाँबाट बढेर ११५ रुपैयाँ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो सात रुपैयाँले बढेको भन्दै उहाँले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शतप्रतिशतसम्म मूल्य बढेको जानकारी दिनुभयो ।
यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी सात रुपैयाँ प्रतिकिलो मात्रै मूल्य बढेको उहाँको भनाइ छ। अहिले लेयर्स दानाको मूल्य सरदर ६० रुपैयाँ प्रतिकिलो पर्न आउँछ ।
देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उहाँले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताउनुभयो । नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।