दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक छ : आपूर्ति विभाग

 वैशाख २१, २०७८ मंगलबार १३:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चामल, दाल, चिनी जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाका लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्यवस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको बताउनुभयो ।

महानिर्देशक पौडेलले बजारमा खाद्य पदार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो-‘चामल, दाल, नुन, तेल, चिनी लगायतका न्यूनतम वस्तुको स्टक करिब तीन महिनालाई अझै पनि हामीलाई सप्लाइमा समस्या छैन । नआए पनि पुग्छ । खाद्य पदार्थको आपूर्ति सहज छ । उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरे मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।’

दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-‘विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ । बजारमा वस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्यवृद्धि लगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ।’

दैनिक उपभोग्य वस्तुहरु, मास्क, स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उहाँको भनाइ छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो-‘बजारमा केही वस्तुहरुको अस्वाभाविक मूल्यवृद्धि भएकाे छ । वृद्धि हुनुपर्ने कारण केही पनि छैन । चिनीको मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने काम भएको छ । मास्क, स्यानिटाइजरमा कालोबजारी छ । त्यो नियन्त्रण सँगसँगै दैनिक उपभोग्य वस्तुको अनुगमनमा जानुपर्छ । उपभोक्ता आतङ्कित छन् । आतङ्कबाट रोक्नुपर्छ ।’

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित कारागारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया