चितवन : भाेजभतेरमा सहभागी नै बढी सङ्क्रमित, ‘दलका सभा–सम्मेलन पनि प्रमुख कारण’

 वैशाख २३, २०७८ बिहीबार १७:२४:३३ | रासस
unn.prixa.net

चितवन – चितवनमा कोरोना भाइरसको सङ्क्रमण भएका धेरैजसोले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा धेरैजसो भोजभतेरमा गएकाहरू सङ्क्रमित भेटिएका हुन् ।

गएको वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गएको फागुन ४ देखि यही वैशाख ५ गतेसम्म पनि शुक्रअन्ध भएका कारण शुभकार्य गर्न नहुने धार्मिक मान्यता थियो । लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी सङ्क्रमित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी गीताञ्जली ढकालका अनुसार कार्यालयमा दुई कर्मचारीले यही वैशाख १६ गतेबाट सङ्क्रमितलाई फोन गरिरहेका छन् । दैनिक ५० जना हाराहारीलाई फोन गर्दा धेरैजसोले विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रमबाट फर्किएपछि आफू सङ्क्रमित भएको बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गएको वर्ष धेरैले अस्पताल आएर फर्किएपछि सङ्क्रमण भएको भन्थे, यस वर्ष भोजभतेरमा गएपछि सङ्क्रमण भएको भनेका छन् ।’ टेलिफोनबाट सर्वेक्षण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क भने आउन नसकेको उहाँको भनाइ थियो ।

वैशाखयता मात्रै चितवनमा एक हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । पछिल्ला दिनमा दैनिक दुई सयभन्दा बढी सङ्क्रमित देखिएका छन् । महानगरपालिकाका कोभिड–१९ सम्पर्क व्यक्ति केशव भट्टले महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा पनि धेरैजसोले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि सङ्क्रमणमा परेको बताएको जानकारी दिनुभयो । 

कतिपयले जिल्लाबाहिर गएर आएपछि सङ्क्रमणमा परेको पनि जनाएको उहाँले बताउनुभयो । भट्टले भन्नुभयो, ‘धेरैजसोमा भोजभतेरबाटै सङ्क्रमण फैलिएको पाइयो ।’ महानगरपालिकाले पाँच समूह बनाएर वडा छुट्याएर सङ्क्रमितसँग सम्पर्क गरिरहेको छ । दुई दिनदेखि महानगरले सम्पर्क कार्य थालेको हो ।

भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले विवाह, व्रतबन्ध, पूजापाठसँगै दलका कार्यक्रम पनि सङ्क्रमण समुदायमा पुर्‍याउनमा जिम्मेवार रहेको देखिएको बताउनुभयो । उहाँका अनुसार सरकारले गरेको निर्देशनलाई अवज्ञा गरेकै कारण यो अवस्था आएको हो । विवाहको लगन अघि सत्तापक्ष र विपक्षी सबै दलले आ–आफ्नो शक्ति प्रदर्शन गरेर देशैभर सभा र सम्मेलन गरेका थिए । ती कार्यक्रम पनि समुदायमा कोरोना पुर्‍याउन सहयोगी बनेको फिजिसियनसमेत रहनुभएका डा. अधिकारीको बुझाइ छ । आम सर्वसाधारणले कोरोनालाई हल्का रूपमा लिँदा यो अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी गएको फागुनदेखि नै सन्देश प्रवाह गरेर भोजभतेर, सभा–सम्मेलनमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको भए पनि अटेर गरिएका कारण सङ्क्रमण धेरै फैलिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘२५ जनालाई भन्दा मानिसले विभिन्न अर्थमा व्याख्या गरे, अहिले यो अवस्था सिर्जना भयो ।’  

विवाहमा २५ जना भनेकाेमा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक–फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन धेरैजसोले अटेर गरेका थिए । गएको वर्ष पनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गरेको तिवारीको भनाइ छ ।

पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए । यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दथे । कतिपय भारतबाट समेत यस्ता कार्यक्रममा सहभागी हुन आएका थिए । जुन आज कोरोना फैलाउने माध्यम बनेको विज्ञहरू बताउँछन् । सङ्क्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेको पाइन्छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया